सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा चार जनाको मृत्यु

कपिलवस्तु । कात्तिक ५, कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।
शुक्रबार साँझ जिल्लाको बाणगङ्गा नगरपालिका–३ सिउटीमा सो ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो । ४ नं तौलिहवा सडकखण्डमा भएको दुर्घटनामा सशस्त्र प्रहरी हबल्दार रमेश चौधरी, सहायक हबल्दार रमेश चौधरी, जवान जनक चौधरी र साइकल यात्री बाणगंगा नगरपालिका-३ का २६ वर्षीय अमर संग्रामी मगरको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रवक्ता मिन बहादुर घलेले जानकारी दिए ।
ट्रकले ठक्कर दिँदा सडकमा हिँडिरहेका स्थानीय सागर पाण्डे, राजु चौधरी र कुलबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनीहरुको बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। ट्रकमा सवार थप दुईजना सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी र प्रेम मल्ल घाइते भएका छन् । उनीहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ । बस्ती नजिकै भएको दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।