सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक ६, नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न आइतबार अदालतसँग अनुमति मागेको थियो। यससँगै अदालतले उनलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ। त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ।

२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले २० असोजबाटै गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो।

दोस्रोपटक २७ असोजमा पाँच दिनको म्याद थप गरेको थियो। गत बुधबार उनलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो।

प्रकाशित : 23 October, 2022

प्रतिक्रिया दिनुहोस्