पुरातत्व विभागले गरेको अध्ययनमा टुकुचाको सुरुङ ‘पुरातात्विक सम्पदा’ ठहर

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक ६, काठमाडौं महानगरपालिकाले हात्तीसारमा टुकुचालाई भूमिगत गर्न बनाइएको संरचना (सुरुङ) भत्काउन नपाउने भएको छ । पुरातत्व विभागले गरेको अध्ययनमा टुकुचाको भूमिगत सुरुङ पुरातात्विक सम्पदा भएको पुष्टि भएकाले यसलाई संरक्षण गर्नुपर्ने भएको हो ।

विभागले टुकुचा भूमिगत गर्न बनाइएको सुरुङबारे अध्ययन गर्न पुरातत्वविद् भाष्कर ज्ञवालीको नेतृत्वमा समिति बनाएको थियो । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरकाअनुसार समितिले दिएको प्रतिवेदन विभागलाई प्राप्त भएको छ ।

अध्ययनका क्रममा महानगरले सुरुङमा प्रयोग भएका कतिपय ईंटामा ‘श्री–३ वीर’ लेखेको भेटाएको थियो । सुरुङ बनाउन भने सादा ईंटाहरु पनि प्रयोग भएको पाइएको थियो । त्यसकै आधारमा समितिले सुरुङलाई संरक्षण गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

महानगरपालिकाले भूमिगत संरचना खोतल्दै खुला गर्ने गरी डोजर चलाएपछि सम्पदा अभियान्ताको अनुरोधमा पुरातत्व विभागले अध्ययन थालेको थियो । अध्ययन समितिले नारायाणहिटीभन्दा बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजाम्म टुकुचा भूमिगत रुपमा बनाइएको सुरुङ सय वर्षभन्दाअघि नै बनेको निष्कर्ष निकालेको हो ।

महानगरपालिकाको कुनै तहबाट आधिकारिक निर्णय समेत नगरी टुकुचाको सुरुङका डोजर चलाइएकाले अहिले महानगरपालिका रक्षात्मक अवस्थामा पुगेको छ । अदालतले औपचारिक निर्णय मागेकाले महानगरपालिकाले सार्वजनिक क्षेत्रको संरक्षणसम्बन्धी नीति अनुरुप डोजर चलाएको दावी गरिरहेको छ ।

 

 

प्रकाशित : 23 October, 2022

प्रतिक्रिया दिनुहोस्