सातामा १० उडान मात्र स्वीकृत हुनाले नेवानिको दिल्ली उडान गर्ने यात्रु अलपत्र

काठमाडौँ । कात्तिक १४, नेपाल वायुसेवा निगमले भारतको राजधानी नयाँ दिल्लीमा गर्दै आएको उडान संख्या नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट कटौती हुँदा त्यसको मारमा यात्रु परेका छन् ।
नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार आइतबार एउटा उडान कटौती भएको थियो । जसमा २५६ जना यात्रुले उडान गर्ने तयारी थियो । आइतबार गन्तव्य स्थान जान नपाएका र सोमबार टिकट लिएका समेतलाई लैजाने गरी तयारी भएको दुई वटा उडान समेत अनुमति नपाएपछि रद्द भएको उनले जानकारी दिइन् ।
यी उडानबाट कुल ३ सय यात्रु लैजाने तयारी थियो । आइतबार काठमाडौं रोकिएकामध्ये १ सय जना यात्रुलाई भने निगमले अन्य वायुसेवासँग समन्वय गरी दिल्ली पठाइसकेको उनले जानकारी दिइन् । दिल्लीमा नेपाल एयरलाइन्सले सातामा १४ उडान गर्दै आएको थियो ।
हिउँदकालीन तालिकामा प्राधिकरणबाट सातामा १० उडान मात्र स्वीकृत भएको प्रवक्ता खड्काले जानकारी दिइन् । उडान रद्द हुँदा अलपत्र परेका यात्रुलाई प्राथमिकताका साथ पठाइने उनले बताइन् ।
उनका अनुसार दैनिक दुई/दुई उडान भइरहेकोमा अहिले प्राधिकरणले आइतबार र शुक्रबार दिउँसोको र सोमबार र बिहीबार बिहानको एक/एक उडान कटौती गरिदिएको छ ।
प्राधिकरणले यसै साता हिउँदकालीन सिजनबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई भैरहवा विमानस्थलबाट अनिवार्य उडान गर्न निर्देशन दिएको थियो । यसको दवावस्वरुप काठमाडौंको उडान कटौती गरिएको हुन सक्ने निगमका अधिकारीहरुको भनाइ छ ।