केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनावी नारामा सीमित धनकुटा विमानस्थल

सहयात्रा टिभी

धनकुटा । कातिक २९, धनकुटा बेलहाराका ७० वर्षीय दोलनाथ ढकालले गाउँमा हेलिकोप्टर हेर्न कुदेको अझै बिर्सिएका छैनन् । तत्कालीन समयमा डाँडामा बसेको हेलिकोप्टरबाट मानिस ओर्लेर विमानस्थल बनाउन भन्दै दूरबीनले हेरेको घटना सम्झँदै उनी भन्छन्, “म करिब पाँच–सात वर्षको थिएँ । माथि डाँडामा हेलिकोप्टर आयो, मानिस ओर्लेर विमानस्थल बनाउन भनेर दूरबीनले हेरेँ । ”

तत्कालीन समयदेखि साविक बेलहारा गाविस हाल धनकुटा नगरपालिका वडा नं ९ को बेलहारा डाँडामा विमानस्थल बन्ने कुरा आजसम्म पनि चर्चामा नै छ । सर्वेक्षण भएको ६० वर्ष पुग्न लाग्दा पनि विमानस्थल नबन्दा अब भने विमानस्थल बन्ने कुरामा ढकाललाई पटक्कै विश्वास छैन । “खै अब बन्दैन होला ! केटाकेटीदेखि सुनेको, मर्नेबेला भइसक्यो”, उनले भने ।

विसं २०२२ मा पहिलोपटक विमानस्थल निर्माण गर्न लागि सर्वेक्षण गरिएको जनाइएको छ । उक्त स्थानमा विभिन्न कारण देखाएर विमानस्थल बन्न सकेको थिएन । पछिल्लो समयमा सो स्थानमा विमानस्थल निर्माण गर्नका लागि विसं २०५० देखि साविक जिल्ला विकास समितिले जिल्ला परिषद्बाट पहिलो नम्बरको आयोजनमा राखेर मन्त्रालयमा १८ वर्षसम्म निरन्तर माग गरेको थियो ।

नेपाल नागरिक उड्डयान प्रधिकरणले विसं २०६८ मा धनकुटाको विभिन्न तीन स्थानमा गरेको सर्वेक्षणपछि बेलहारा विमानस्थल निर्माणका लागि उत्कृष्ट देखाएको थियो । तर अहिलेसम्म काम अगाडि बढेको छैन । मन्त्रिपरिषदको बैठकले समेत बेलहारामा विमानस्थल बनाउने निर्णय गरेको थियो ।

विसं २०७१ मा इञ्जीनियर मणिगोविन्द श्रेष्ठको नेतृत्वमा आएको टोलीले गरेको विस्तृत सर्वेक्षणअनुसार बेलहारामा एक हजार तीन सयदेखि एक हजार पाँच सय मिटरसम्मको धावनमार्ग निर्माणका लागि सर्वेक्षण गरिएको थियो । त्यसताका धनकुटाको बेलहारामा विमानस्थल बन्ने कुरा पक्का जस्तै भएको थियो ।

विमानस्थल बन्ने कुरा चियागफ र दलका नेताको चुनावी नारामा मात्रै सीमित भएको जनाइएको छ । बेलहारा बाघखोरका ३० वर्षीया चन्द बस्नेत भन्छन्, “अरु बेला सुनसान हुन्छ, चुनाव आएपछि मात्र हल्ला हुन्छ”, उनले भने । पछिल्लो समयमा पहल गर्ने मान्छे नहुँदा विमानस्थलको विषय त्यसै सेलाएर गएको वडाध्यक्ष टङक राईले बताए ।

यस स्थानमा बन्ने धावनमार्ग हिउँद र बर्खा दुवै मौसममा उडान भर्न सकिने र हावाको गतिको रोकावटबिना दुवै तर्फबाट उडान भर्न सकिने विशेषताको प्रतिवेदनमा उल्लेख छ । बेलहरामा निर्माण हुने विमानस्थल विराटनगरबाट २२, तुम्लिङटारबाट २४ र भोजपुर विमानस्थलबाट १७ दशमलव ७४ नटिकल माइल टाढा रहेको छ । तात्कालीन अवस्थामा गरिएको सर्वेक्षणअनुसार विमानस्थल निर्माण गर्दा विस्थापित ४७ घरपरिवारको मुआब्जाबाहेक रु १७ करोड लाग्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : 15 November, 2022

प्रतिक्रिया दिनुहोस्