केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मंसिर ५ देखि ११ सम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २९, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्ततः परीक्षण चरणमा प्रवेश गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले १ जनवरी २०२३ देखि व्यावसायिक उडान गर्ने निर्णय गरिसकेको छ । त्यस अगाडि परीक्षणहरु हुनुपर्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिर (२१ नोभेम्बर)देखि ११ मंसिर (२७ नोभेम्बर)सम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो ।

यान्त्रिक परीक्षण उडानका लागि एरो थाई कम्पनीको जहाज नेपाल आइसकेको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । जहाज आइतबार नै नेपाल आएको हो । यो जहाज आगामी ५ डिसेम्बरसम्म नेपाल रहने छ ।

यसबीचमा पोखरामा क्यालिब्रेसन उडान हुनेछ । त्यसबाहेक देशभरका आन्तरिक विमानस्थलका उपकरण जाँचमा नियमित परीक्षण उडान समेत यसै जहाजबाट गरिने उनले जानकारी दिए ।

प्राधिकरणका अनुसार क्यालिब्रेसन फ्लाइट एक विस्तृत यान्त्रिक परीक्षण उडान हो । यो सम्पन्न भएपछि उडान गरेको कम्पनीले प्रतिवेदन बुझाउँछ । सोही प्रतिवेदनका आधारमा नयाँ विमानस्थलमा परीक्षण उडान गरिन्छ । परीक्षण उडान समेत सफल भएको प्रतिवेदन आएपछि भने विमानस्थलमा अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि कम्पनीहरुले अनुमति पाउने भुलले जानकारी दिए ।

प्रकाशित : 15 November, 2022

प्रतिक्रिया दिनुहोस्