सुरुङ खनेर लाखौँको चोरी
रौतहट । जिल्लाको मौलापुर नगरपालिकामा एक चोरसमुहले गएराति सुरुङ खनेर लाखौँ मूल्य बराबरको धनमाल चोरी गरेको छ ।
सोमबार मध्यरातमा चोरले सुरुङ खनेर मौलापुर नपा–१ मर्यादपुर टोलस्थित छुट्टाछुट्टै घरबाट नगद, गरगहना तथा अन्य सामान गरी रु छ लाख बराबरको सामान चोरी गरी लगेको पीडितले बताएका छन् ।
मौलापुर नगरपालिका–१ का वडाध्यक्ष रामप्रवेश यादवका अनुसार सोमबार राति १२ र १ बजेको बीचमा घरधनी सुतिरहेको अवस्थामा चोरले हृदयबैठा धोबी, महेन्द्र साह कानु, रामाज्ञा यादव, भजुराम महतो, राधेश्याम पटवा, सुरुज तिवारीको घरमा सुरुङ खनेर रु छ लाख बराबरको धनमाल लुटी लगेका हुन् ।
चोरले धोबीको घरबाट नगद रु दुई लाख, चाँदीको हँसुली एक थान, चाँदीको गोँडाइ दुई थान, कानुको घरबाट नगद रु ४० हजार, यादवको घरबाट नगद रु ५० हजार लुटी लगेको वडाध्यक्ष यादवले बताउनुभयो ।
त्यसैगरी, महतोको घरबाट नगद रु एकलाख ५० हजार, पटवाको घरबाट रु ६० हजार र तिवारीको घरबाट नगद रु एक लाख र एकथान लाभा कम्पनीको साधारण मोबाइल सिमसहित चोरेको वडाध्यक्ष यादवले जानकारी दिनुभयो ।
पीडित भजुरामले छोरीको विवाहपछि गौँना बिदागिरी (विदाई गर्ने) कामका लागि रकम जोडजाम गरेका थिए भने राधेश्यामले आगामी पूर्णिमामा मर्यादपुरमा लाग्ने मेलामा व्यापार गर्नका लागि सोमबार मात्रै बैंकबाट झिकेर ल्याएको पीडितले बताएका छन् ।
त्यसैगरी, काठमाडौँमा ठेक्कामा काम गरिरहेका सुरुज तिवारीको छोरा हरिराम तिवारीले जग्गा खरिद गर्न दुई दिनअघि मात्र पैसा लिएर घर आएका थिए । बाहिरबाट पैसा आएको घर मात्रै छानीछानी चोरी भएकाले चोर समूह नजिकैको हुनसक्ने पीडितले अनुमान गरेका छन् ।
इलाका प्रहरी कार्यालय, विजयपुरका प्रमुख धर्म मुडभरीले दीपावली र छठपर्वको मुखमा यसरी चोरी हूनु दुःखद् भएको बताउँदै घटनाबारे छानबिन भइरहेको जानकारी दिनुभयो ।
मर्यादपुरबाट मात्र दुई किलोमिटर दक्षिण मौलापुरमा प्रहरी चौकी र दुई किलोमिटर उत्तर सन्तपुर दोस्तीयामा इलाका प्रहरी कार्यालय रहेपनि नियमित गस्तीको अभावका कारण पर्वको मुखमा चोरीको घटनामा वृद्धि भएको स्थानीयले गुनासो गरेका छन् ।