केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान : हात लाग्यो शून्य

सहयात्रा टिभी

सहयात्रा सम्पादकीयः देशभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुक्रबारदेखि शुरु भएको छ । ‘सभ्य समाजको पहिचान : लैङ्गिक हिंसाविरुद्धको अभियान’ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको हो । हरेक वर्ष २५ नोभेम्बरदेखि ८ डिसेम्बरसम्म संसारभर लैङ्गिक हिंसाविरुद्धको यो दिवस मनाइँदै आइएको छ । हिंसामुक्त समाज, लैङ्गिकमैत्री विद्यालय र भय रहित सुसभ्य वातावरण सिर्जना गर्न स्थानीय तहका विभिन्न संघसंस्था, अधिकारकर्मीहरुले औपचारिक कार्यक्रम गरी यस अभियानको सुरूवात गरेका छन् ।

हिंसा अन्त्यका लागि सरकारले प्रतिबद्धता जाहेर गरेतापनि बलात्कारविरुद्धको ऐक्यबद्धता जनाए पनि आफ्नै घरभित्रै महिलाहरु असुरक्षित हुने गरेको विभिन्न घटनाले देखाईरहेको छ । पछिल्लो समय महिला हिंसा तथा बलात्कारका घटना परिवारभित्रैका सदस्यबाट हुनु विडम्बनाको विषय बन्न पुगेको छ । यसले हाम्रो समाज कतिसम्म असुरक्षित बन्दै गएको छ भन्ने पनि प्ष्ट पार्छ । हामीले विभिन्न दिवस मनाउँदै गर्दा महिलालाई गरिने व्यवहारमा खासै परिवर्तन आएको पाइँदैन । अझै पनि दाइजो नपाएको निहुँमा महिलामाथि हुने हिंसा, अन्याय र अत्याचारका घटना दिनप्रतिदिन भइरहेका छन् । महिला हिंसामा महिलाकै संलग्नता हुनु अर्को दुर्भाग्य हो । दाइजो, बोक्सी, छाउपडी, छोराछोरीमा विभेद, छुवाछूतजस्ता कुप्रथा र अन्धविश्वासलाई नेपालको कानुनले निषेध त गरेको छ तर व्यावहारिकरूपमा नेपाली समाजमा भने विद्यमान छ । कुसंस्कारबाट प्रताडना दिने काम पनि प्रायः महिलाबाटै भइरहनु महिलाकै लागि अभिसाप हो । पुरुष प्रताडित त छन्नै महिलाहरु, तर महिला वाटै महिला अर्को हिंसामा परिरहेका उदाहरण हामी सामु देखिएकै छ । घरेलु हिंसाका प्रायः घटनामा महिलाबाटै महिलाको हिंसा हुने गरेको पाइन्छ । जुन हिंसा शिक्षित र आफूलाई सभ्य नागरिक भनिनेहरुबाटै भइरहेको पाइन्छ ।

नेपालमा सदिऔँदेखि महिलाहरु अधिकारको लडाइँ लड्दै आएका छन् । जनसंख्याको हिसाबले पनि मुलुकको आधाभन्दा बढी हिस्सा महिलाले नै ओगटेका छन् । पछिल्लो समय कानुनीरूपमा महिलालाई बलियो बनाएको छ । तर, व्यावहारिकरूपमा महिलामाथि हुने गरेका अन्याय, अत्याचार र विभेदका घटनामा भने न्यूनीकरण हुन सकेको छैन । केही वर्षयता अपराधका प्रकृति झनै कहालीलाग्दो बन्दै आएको छ । अहिले पनि महिलासँग सम्बन्धित मुद्दा महिलाले नै गुपचुप राख्ने गरेका, आफूमाथि अन्याय परे पनि सामाजिक लोकलाजका कारण सार्वजनिक नगर्ने, परिवार तथा आफन्तबाटै हुने गरेका हिंसाका घटनालाई ढाकछोप गर्ने गरिएका प्रसस्त दृष्टान्त छन् ।

समाजमा आर्थिक र सामाजिकरूपमा कमजोर वर्ग, राजनीतिक पहुँच र प्रभाव नभएका वर्ग र शिक्षाबाट वञ्चित वर्ग नै यस्ता घटनामा बढी पीडित हुने गरेका छन् । पछिल्लो समय सामाजिक सञ्जालको दुरूपयोग, विश्वास र आत्मविश्वासको कमीजस्ता कारणले पनि महिला हिंसा बढिरहेको पाइएको छ । जुनसुकै हिंसाको बढोत्तरी हुनु भनेको दण्डहीनता बढ्दै जानु हो । लैङ्गिक हिंसाको अपराधमा संलग्न जोसुकैलाई पनि कानुनअनुसार कारबाही गर्ने वातावरण नबनेसम्म महिलाहरु भयमुक्त हुन सक्दैनन् । अपराध नियन्त्रणका लागि राज्यलाई दबाब सिर्जना गर्ने, कुनै पनि शक्तिको आडमा मुद्दा प्रभावित नगर्ने र अपराधीलाई ढाकछोप गर्ने प्रवृत्ति अन्त्य हुनै पर्छ । सभ्य समाज निर्माण यदि हामी साच्चै चाहन्छौ भने हरेक नागरिकले ‘हिंसा पनि गर्दिन र सहन्न’ पनि भन्ने प्रतिबद्धता जनाउनु एकदमै जरूरी छ । तसर्थ, नेपाली समाजमा हिंसा बढाउने कारक तत्व भनेको लोभ, मोह, अहंकार, देखासिकी र विकृत मानसिकताको उपज हो । यसलाई हामी आफैले सभ्य र सुसंस्कृत समाज बनाउन लागि पर्यौ भने मात्र अनुशासित, सभ्य र विकसीत राज्य अनि समाज बन्नेमा दुइमत छैन ।

प्रकाशित : 28 November, 2022

प्रतिक्रिया दिनुहोस्