चिनियाँ चिकित्सा टोलीद्धारा निःशुल्क स्वास्थ्य शिविर

सहयात्रा टिभी

नवलपुर । पुस ७, कोरोना महामारी, निर्माण सामग्रीको अभावलगायत विभिन्न कारणले गति लिन नसकेको बुटवल–नारायणगढ सडक निर्माणको कामले तीव्रता पाएको छ । चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सबै प्राविधिक तथा जनशक्तिलाई काम अगाडि बढाउन निर्देशन दिएसँगै कामले तीव्रता पाएको हो । सुरुमा ४२ महिना सम्झौता अवधि रहेको सडकमा रुख कटान गर्न निर्धारित परिमाणभन्दा बढी रुख काट्नुपर्ने र त्यसको अनुमति लिन समय लाग्दा सुरुको दुई वर्ष केही कार्य गर्न नसकेको निर्माण कम्पनीको गुनासो छ ।

यद्यपि, रुख नभएका स्थानहरु खोलानालामा पुल निर्माण तथा कल्भर्ट निर्माणको कार्य कम्पनीले सुरुमै थालेकाले उक्त कार्यमा प्रगति रहेको कम्पनीको दाबी छ । हाल १२ वटा मुख्य पुल निर्माणका लागि सबैमा काम थालिएको र २२ वटा साना पुलमध्ये १५ वटाको निर्माण सकिएको छ । यस्तै, २१५ वटा कल्भर्टमध्ये ७४ वटाको सम्पूर्ण निर्माण सकिएको छ भने ६४ वटाको आंशिक तथा १५ वटा निर्माणको चरणमा छन् । कम्पनीका अनुसार सडक विस्तारमा सवै बिजुलीको पोल सार्नुपर्ने भएको र उक्त कार्य इस्टिमेटमा समावेश नभएकोले उक्त इस्टिमेट विद्युत प्राधिकरणले पेस गरेपछि परामर्शदाताले निर्माण कम्पनीलाई पोल सार्न अनुमति दिएको थियो ।

यस्तै, कोरोना महामारीका कारण पनि गएको दुई वर्ष निर्माण कार्यमा असर पुगेको थियो । गत वर्षदेखि साइट क्लियरेन्स पाएपछि निर्माण कम्पनीले द्रुत गतिमा निर्माण कार्य अगाडि बढाएको हो । सडक निर्माणका लागि आवश्यक कच्चा पदार्थको रुपमा ढुंगा गिट्टी, बालुवा तथा माटोको अभाव हुँदा पनि निर्माण कार्यले गति लिन सकेको थिएन । सडक पूर्न आवश्यक माटोका लागि विभिन्न कानुनी जटिलता झेल्नु परेको कम्पनीले जनाएको छ । तर, पछिल्लो समय भने देवचुली र कावासोती नगरपालिकाले राजश्व लिने गरी माटो उपलब्ध गराएपछि निर्माण कार्यमा सहज भएको कम्पनीका नेपाल प्रमुख (डिपुटी सीए) राकेशकुमार झाले जानकारी दिनुभयो ।

अहिले सडकको पूर्वी खण्डमा मात्र एकैपटक १ हजार २ सय कामदारले काम गरिरहेको चाइना स्टेट कम्पनीको सम्पर्क कार्यालय कावासोतीले जनाएको छ । निमार्ण कार्यको चरणमा विभिन्न समस्या व्यहोरेको कम्पनीले निर्माण सामग्रीका लागि सहयोग मागेपछि स्थानीय तहले आवश्यक सहयोगमा सक्रियता देखाएपछि कामले गति लिएको कावासोती नगरपालिकाका मेयर विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।

नेपालको मध्य भागको अत्यन्तै धेरै सवारी चाप हुने यस सडक खण्डको विस्तारले भावी दिनमा यात्रुले सहज यात्रा गर्न पाउने विश्वास लिइएको छ । माटो अभावले काम अगाडि बढ्न नसकिरहेको अवस्थामा आवश्यक सहयोगका लागि आफूले भूमिका खेलेको देवचुली नगरपालिकाका मेयर हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

यो सडक विस्तारका लागि २०७५ माघमा सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ साउन २२ गतेभित्र सम्पन्न गर्नु पर्नेमा गत साउन २३ गते थप एक वर्ष आयोजनाको म्याद थपिएको थियो ।

कम्पनीका नेपाल प्रमुख झाले अझै पनि निर्माण कार्यका लागि ८ लाख घन मिटर माटो आवश्यक पर्ने र भविष्यमा पनि देवचुली र कावासोती नगरपालिकाबाट माटो उपलब्ध भए अबको दुई वर्षमा सडक निर्माण सम्पन्न हुने जानकारी दिनुभयो ।

सडक निर्माण कम्पनीले हालसम्म बुझाएको काठ हस्तान्तरण हुन नसकेको बिजुलीको पोल सार्ने कार्यमा सोचेभन्दा बढी जटिलता भएकाले निर्माण कार्यमा ढिलाइ हुने गरेको छ । यद्यपि, कम्पनीले निर्माण कार्यलाई गति दिएसँगै स्थानीय तह तथा स्थानीय जनता सन्तुष्ट छन् । ठेकेदार कम्पनीले तीव्रताका साथ काम अगाडि बढाएपछि अहिले स्थानीय जनताले खुशी व्यक्त गरेका छन् । गैँडाकोटदेखि दाउन्ने पहिलो खण्ड र दाउन्ने बुटवल दोस्रो खण्ड गरेर १६ अर्ब ९९ करोडमा चिनियाँ कम्पनीले ठेक्का पाएको हो । एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा यस खण्डको विस्तार भइरहेको हो ।


यसैबीच, बुटवल–नारायणगढ सडक खण्ड निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले स्थानीयबासीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ । गत मंसिर २८ र २९ गते तथा पुस १ र ३ गते गरी चार दिन स्वास्थ्य शिविर सञ्चालन गरेको हो । देवचुली नगरपालिकाको पहलमा नगरपालिकाको कार्यालय परिसरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । सुरुमा तीन दिनका लागि भनेर स्वास्थ्य शिविर सञ्चालन गरिएपनि सेवाग्राहीको चाप बढेपछि एक दिन थप गरिएको देवचुली नगरपालिकाका मेयर हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो । स्वास्थ्य शिविरका क्रममा निःशुल्क औषधि वितरण तथा आवश्यक परामर्श प्रदान गरिएको चिनियाँ चिकित्सक टोलीका प्रमुख जिआ सिओपेङ्गले जानकारी दिनुभयो ।

यो आयोजना नेपालको मेरुदण्ड भएकाले आयोजना सम्पन्न गर्न चीनबाट आएको कम्पनीको प्रधान कार्यालयले थप सहयोग गर्ने निर्णय गरेको छ र CSCEC ले यसअघि नै थप घाटा बेहोर्नुपरेको र आगामी दिनमा भने बेहोर्नु पर्ने भए पनि चाँडै नै आयोजना सम्पन्न गर्ने बताएको छ ।

अहिलेसम्म कम्पनीको प्रधान कार्यालय चीनबाट एक करोड अमेरिकी डलर प्राप्त भइसकेको छ । एनबी रोडको घाटा पूरा गर्न मुख्यालयबाट निरन्तर सहयोग रहने चाइना स्टेट कन्स्ट्रक्सका नेपाल प्रमुख सु यानले बताउनुभयो ।

प्रकाशित : 22 December, 2022

प्रतिक्रिया दिनुहोस्