एफसीले मेसुकेसहित तीन विदेशी खेलाडीलाई अनुबन्ध

काठमाडौ । पुस २६, शीर्ष डिभिजनमा डेब्यूको तयारीमा रहेको एफसी खुमलटारले नेपालमा स्थापित स्ट्राइकरहरु मेसुके ओलोमोउ र स्टेफन विनोङसहित तीन विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ ।
अघिल्लो सिजन न्युरोड टिम (एनआरटी)बाट ए डिभिजन लिग खेलेका मेसुके र स्टेफनले हालै पोखरामा सम्पन्न आहा रारा पोखरा गोल्डकपमा संकटालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिकामा थिए ।
यी दुईको प्रमुख प्रदर्शनमा डेढ वर्षअघि पहिलोपल्ट आयोजित नेपाल सुपर लिगमा काठमाडौं रेजर्सले उपाधि जितेको थियो ।
खुमलटारले अर्का विदेशी खेलाडीका रुपमा घानाका मिडफिल्डर थियोफिलस अपोहलाई अनुबन्ध गरेको छ । उनी पहिलोपल्ट नेपालमा आएर खेल्न लागेका हुन् ।
गत सिजन बी डिभिजन लिगमा दोस्रो भएर पहिलोपल्ट ए डिभिजनमा उक्लिएको खुमलटारले शीर्ष डिभिजनमा प्रभावशाली नतिजाको आशा गर्दै प्रशिक्षकसहित १३ जना नयाँ खेलाडी अनुबन्ध गरेको छ ।
खुमलटारले हालै १० जना नेपाली खेलाडी अनुबन्धन गरिसकेको छ । गोलरक्षकहरु चाङ थेवे र देव लिम्बु, डिफेण्डरहरु अनिल गुरुङ, रोहित सुब्बा र पदम भट्टराई, मिडफिल्डरहरु नितिन थापामगर र जय गुरुङ, तथा फरवार्डहरु श्याम मुरमुर, राजीव लोप्चन र मनिष थापालाई अनुबन्ध गरिसकेको छ ।
खुमलटारले यो सिजनका लागि यामप्रसाद गुरुङलाई टिमको मुख्य प्रशिक्षणको जिम्मा सुम्पिएको छ ।