चीनको तिब्बतसँग सीमा जोडिएको टिपताला नाका तीन वर्षदेखि बन्द

सहयात्रा टिभी

काठमाडौं । माघ १३, कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङमा रहेको टिपताला नाका अझै खुलेको छैन । चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ । कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो ।

लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास गर्ने नागरिकलाई समस्या भएको छ । सीमा नजिकका ओलाङ्चुङगोला, याङ्मा, घुन्सालगायत ठाउँका बासिन्दालाई बढी समस्यामा भएको छ । यहाँका बासिन्दाले खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तु तिब्बतको रिउबजारबाट आयात गर्दै आएका थिए ।

गलैँचा, घिउ, छुर्पी, जडीबुटीलगायत उत्पादन रिउबजारमै लगेर बेच्ने गरेका थिए । दोहोरो व्यापार सम्बन्धसहित सर्वसुलभरूपमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामान उपभोग गर्दै आएका उनीहरूलाई अहिले समस्या भएको छ । व्यवसायीले उत्पादन गरेका गलैँचाले बजार नपाएपछि घरमै थन्किएका छन् भने अन्य उत्पादन पनि सहजरूपमा बजार लैजान सकिएको छैन ।

खाद्यान्नसहितका सामान महँगो ढुवानी खर्चसहित सदरमुकाम फुङ्लिङबाट लैजानुपर्ने बाध्यता छ । फुङ्लिङमा प्रतिकिलो ३० रुपैयाँ पर्ने नुन ओलाङ्चुङगोलामा दुई सय रुपैयाँ पर्छ । अरु सामानको मूल्य पनि उत्तिकै महँगो छ । याङ्मा, घुन्स र ओलाङ्चुङगोला अझै सडक सञ्जालसित जोडिएका छैनन् ।

यहाँ बसोबास गर्नेको मुख्य पेसा व्यवसाय पशुपालन, जडीबुटी सङ्कलन तथा व्यापार र गलैँचा उत्पादन हो । घिउ, छुर्पीजस्ता दूधजन्य उत्पादन पशुपालकले गोठबाटै बिक्री गर्थे । गलैँचा उत्पादकले रिउबजारमा लगेर बेच्ने गरेका थिए । रिउबजार जाँदा गलैँचा साथमा लिएर जानेले महिनौँ पुग्ने खाद्यान्नलगायत सामान लिएर फर्किने गरेका थिए ।

तर अहिले गलैँचा बेच्ने ठाउँ नहुँदा व्यवसाय नै ठप्प भएको छ । यहाँका उत्पादन नेपाली बजारमा पुर्याउन भौगोलिकरूपमा कठिनाइ हुने र ढुवानी खर्च बढी लाग्ने हुँदा समस्या भएको स्थानीयवासी बताउँछन् । यता ताप्लेजुङसहित इलाम, पाँचथरका किसान र व्यापारीले सङ्कलन गरेको चिराइतोलगायतका जडीबुटी पनि तिब्बततर्फ नै निर्यात हुँदै आएको थियो । कोभिड–१९ सँगै बन्द भएका अन्य क्षेत्रका नाका खुले पनि टिपताला नाका अझै बन्द हुँदा समस्या भएको छ । सरकारले यसरी लामो सयमदेखि बन्द रहेको नाका खोल्न पहल गरिदिए जीवनयापनमा सहज हुने उनीहरु बताउँछन् ।

 

प्रकाशित : 27 January, 2023

प्रतिक्रिया दिनुहोस्