१९ वर्षमुनिको फुटबलमा नेपाल कीर्गिस्तानसँग पराजित

सहयात्रा टिभी

काठमाडौँ । एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप-२०१८ छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ ।

कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा आज भएको खेलमा नेपाल घरेलु टोलीसँग २-० गोल अन्तरले पराजित भएको हो । नेपालले खेलको पहिलो हाफ र दोस्रो हाफको अतिरिक्त समयमा एक-एक गोल खान पुग्यो ।

किर्गिस्तानका लागि बोरुबाएभ गुल्जिगिटीले खेलको २२औँ मिनेटमा एक गोल गर्दै पहिलो अग्रता लिए भने शुकुरोभ अलीमार्दोभले खेलको दोस्रो हाफको अतिरिक्त समयमा थप एक गोल गर्दै आफ्नो टोलीलाई २-० को सहज जित दिलाए । सो जितसँगै किर्गिस्तानले तीन अंक जोडेको छ ।

समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलम यही कात्तिक १६ गते बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको समूहमा आयोजक किर्गिस्तानसहित ओमान, संयुक्त अरब इमिरेट्स र बहराइन छन् ।

दश समूहमा विभाजन गरिएको उक्त छनोट खेलमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणमा प्रवेश गर्नेछ । त्यस्तै दोस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट पाँच टोली र आयोजक फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरणमा छनोट हुने टोलीले सन् २०१८ मा हुने एएफसी यू-१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछ ।

प्रकाशित : 31 October, 2017

प्रतिक्रिया दिनुहोस्