सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ बाग्मती प्रदेशमा लागू
काठमाडौ । फाल्गुन २, बाग्मती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको हो ।
यही फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले बिदा परेकाले आजदेखि नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको हो ।
मन्त्रालयले मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अङ्कभार एक सय तोकेको छ । यसमा ७० अङ्क प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ ।
सवारी चालक अनुमति परीक्षा सञ्चालन निर्देशिका २०७७ अनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो आठ (एट आकार) को अङ्कभार २० तोकिएको छ । दुई पटकसम्म अङ्कित रेखा छोएमा प्रत्येक पटक पाँच अङ्कको दरले १० अङ्कभार घट्नेछ तर, पनि ट्रायल भने फेल भइँदैन ।
यस्तै दुई पटकभन्दा बढी यो रेखा छोएमा, गाडीको टायर अङ्कित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा गाडीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ ।
यसैगरी साँघुरो फलेकको अङ्कभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा यू–टर्नको अङ्कभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अङ्क घटाइनेछ । त्यस्तो अवस्थामा पनि अङ्कित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् ।
ट्राफिक सङ्केतका लागि १५ अङ्कभार तोकिएको छ । ट्राफिक सङ्केत पालना नगरेको खण्डमा १५ अङ्क घटाइनेछ । निर्देशिकामा उबडखाबडको अङ्कभार १५ तोकिएको छ ।
एकपटकसम्म गाडीको स्टार्ट बन्द भएको खण्डमा पाँच अङ्कभार घटाइनेछ । एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन् । उकालो (र्याप) को अङ्कभार २० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनलाई १० अङ्कभार तोकिएको छ ।
यस्तै कार, जीप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अङ्कभार एक सय तोकिएको छ । यसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ ।
निर्देशिकाअनुसार कार, जीप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठ (एट) को अङ्कभार २० तोकिएको छ । दुईपटकसम्म अङ्कित रेखा छोए प्रत्येक पटक पाँच अङ्कका दरले १० अङ्कभार घट्नेछ तर ट्रायल फेल भइँदैन ।