केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अर्जेन्टिनामा रुसी महिलाहरूको बच्चा जन्माउने उद्देश्य

सहयात्रा टिभी

काठमाडौ । फाल्गुन ४, हालै रुसका पाँच हजारभन्दा धेरै गर्भवती महिलाहरू अर्जेन्टिना पुगेका छन् । बिहीबार एकै दिन ३३ जना रुसी गर्भवती महिलाहरू एउटै उडानबाट अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स गएको जानकारी प्राप्त भएको छ ।

 

अर्जेन्टिनाको राष्ट्रिय आप्रवासन एजेन्सीका अनुसार अर्जेन्टिना पुगेका सबै रुसी महिलाहरु गर्भावस्थाको अन्तिम हप्तामा छन् । ती महिलाहरुले अर्जेन्टिनामा आफ्नो बच्चा जन्माउन चाहन्छन् ता कि बच्चालाई अर्जेटिनाको नागरिकता प्राप्त होस् ।

स्थानीय मिडियाहरुका अुनसार युक्रेनमा चलिरहेको युद्धका कारण रुसी गर्भवतीहरू सुत्केरी हुनका लागि अर्जेन्टिना जाने क्रम बढेको हो ।

बिहीबार एकसाथ ३३ महिलाहरु एकै उडानबाट अर्जेन्टिनाको राजधानी ओर्लिएकोमा तीन जनालाई कागाजत नपुगेको भन्दै रोकिएको थियो ।

ती महिलाहरू अर्जेन्टिनामा बच्चा जन्माउने उद्देश्यका साथ आएको र आफ्ना बच्चाले अर्जेन्टिनाको नागरिकता पाउन् भन्ने चाहेको उनले बताइन् ।

रुसी पासपोर्टको तुलनामा अर्जेन्टिनी पासपोर्टलाई विश्वमा धेरै मान्यता रहेको हुँदा रुसी महिलाहरू बच्चा जन्माउन अर्जेन्टिना जाने गरेको उनको दाबी छ ।

रुसी पासपोर्टले विश्वका ८७ देशमा मात्र भिसा नलिइकन यात्रा गर्न सकिन्छ भने अर्जेन्टिनाको पासपोर्टबाट यात्रा गर्दा विश्वका १७१ देशमा भिसा चाहिँदैन ।

बच्चा अर्जेन्टिनामा जन्मिएपछि बच्चाका बुवाआमाले पनि अर्जेन्टिनाकै नागरिकता पाउने प्रक्रिया सुरु हुन्छ । रुसी नागरिकलाई अर्जेन्टिना जाँदा भिसा लगाउनु पर्दैन ।

अर्जेन्टिनामा रुसी महिलाका लागि बर्थ टुरिज्म फस्टाउँदै गएपछि अर्जेन्टिनामा बच्चा जन्माउन चाहने रुसी महिलाका लागि रुसमा विभिन्न खालका प्याकेजसमेत सार्वजनिक हुने गरेका छन् ।

बीबीसीका अनुसार एउटा रुसी वेबसाइटले अर्जेन्टिनामा बच्चा जन्माउन चाहने महिलाहरुका लागि पर्सनलाइज्ड बर्थ प्लान, एयरपोर्टबाट पिकअप गरेर लैजाने, स्पेनिस सिकाउने तथा अर्जेन्टिनाको राजधानीका उत्कृष्ट अस्पतालमा बच्चा जन्माउन लाग्ने खर्चमा छुट गराउनेलगायतका अफरको विज्ञापन गरेको छ ।

त्यसका लागि पाँच हजार देखि १५ हजार डलर सम्मको प्याकेज दिइएको छ । युक्रेन युद्धपश्चात् रुसी नागरिकहरुलाई युरोपलगायतका पश्चिमी मुलुकको भ्रमणका लागि भिसाा पाउन कठिनाइ हुँदै गएको छ । युरोपेली युनियनका देशहरू समेतले हाल रुसी नागरिकका लागि भिसा जारी गर्नमा रोक लगाएका छन् ।

एजेन्सी

प्रकाशित : 16 February, 2023

प्रतिक्रिया दिनुहोस्