केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सीएमसीले शिशुको मुटुको जटिल शल्यक्रिया गर्न सफल

सहयात्रा टिभी

काठमाडौं । फागुन १६, चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ ।

भरतपुर महानगरपालिका–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी शिशु महिमा प्रजाको मुटुको डी–टीजीए (डेस्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज) को शल्यक्रिया सफल भएको हो ।

सीएमसी शिक्षण अस्पतालमा कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा डा अनिल आचार्य नेतृत्वको टोलीले शिशुको शल्यक्रिया गरेको हो । डीटीजीए शल्यक्रिया नेपालमा सफल भएको यो तेस्रो घटना भएको प्रा डा आचार्यले बताउनुभयो ।

गएको माघ २३ अस्पताल भर्ना भएकी महिमाको २५ गते शल्यक्रिया गरिएको हो । शल्यक्रियामा प्रा डा आचार्यसहित डा अल्का सिंह, एनेस्थेसियोलोजिष्ट डा प्रवेश ज्ञवाली, परफूजनिस्ट (शल्यक्रिया गर्दा मुटु र फोक्सो चलाउने मेसिन सञ्चालन गर्ने) गोविन्द बधनगरिया, बालरोग विशेषज्ञ डा विराज पराजुली नर्सहरूको टोली संलग्न हुनुहुन्थ्यो ।

भरतपुर अस्पतालका चिकित्सकले निमोनियाको शङ्का गरेर महिमालाई सिफारिस गरेका थिए । बीस दिन एनआईसीयूमा राखेर उपचारपछि महिलामा अहिले पूर्णरूपमा निको भएकी छिन् । उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

काठमाण्डौका शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा १५ वर्षमुनि र ७५ वर्षमाथिकालाई मुटुको उपचार निःशुल्क हुने भए पनि उपत्यका बाहिर यो सुविधा सरकारले दिएको छैन ।

 

प्रकाशित : 28 February, 2023

प्रतिक्रिया दिनुहोस्