केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्तन र पाठेघर क्यान्सरको नि:शुल्क उपचार सेवा सातै प्रदेशमा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

सहयात्रा टिभी

काठमाडौँ । फागुन २४, प्रधानमन्त्री पुष्पकमल दाहालले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा नि:शुल्क सेवा विस्तार गरिने घोषणा गरेका छन् ।

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गरेका हुन् ।

‘सातवटै प्रदेशमा नि:सन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा नि:शुल्क सेवा विस्तार गरिनेछ। साथै पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिनेछ,’ प्रधानमन्त्री दाहालले भनेका छन् ।

प्रधानमन्त्री दाहालले प्रजनन् उमेर समूहका महिलाहरुमा देखिएको समस्या सम्बोधन गर्न महिलालक्षित पोषण कार्यक्रम सञ्चालन गरिने बताए । ‘करिब ३४ प्रतिशत महिलाहरुमा प्रजनन् उमेर समूहका महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम सञ्चालन गरिनेछ,’ दाहालले भने ।

प्रधानमन्त्री दाहालले पछिल्लो संविधान जारी भएपछि राजनीतिकरुपमा समेत महिलाको अधिकार र प्रतिनिधित्व सुनिश्चित हुँदै गएको बताए ।

दाहालले राज्यका विभिन्न तहमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित भइसकेको भन्दै सभामुख र उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष सहित स्थानीय तहका प्रमुख र उपप्रमुखमा समेत फरक-फरक लिङ्गको प्रतिनिधित्व हुने गरी संवैधानिक व्यवस्था हुनुलाई उपलब्धि मान्नुपर्ने बताए ।

प्रकाशित : 8 March, 2023

प्रतिक्रिया दिनुहोस्