पाखोमा चिया, आँगनमा उद्योग

सहयात्रा टिभी

इलाम । चियाको आविष्कार झण्डै पाँच हजार वर्ष अगाढि चीनमा भएको हो । चीनबाट शुरु भएको चिया खेती अहिले विश्वका धेरै देशमा अर्थ उपार्जनको माध्यम बनिरहेको छ ।

चिया प्रशोधनका लागि चीनमा विशाल कारखानाहरु छन् । नेपालमा पनि वर्षेनी उच्च गुणस्तरको चिया कारखाना खुल्ने क्रम बढिरहेको छ । तर, पनि साना मेशिनको सहयोगमा हातैले बनाएको चियाको अझै पनि छुट्टै पहिचान छ । चीनमा चियाका ठूला उद्योगहरु धेरै छन् । तर पनि चीनको ‘फुचियान’ प्रान्तमा अहिले पनि साना उद्योगमा हातैले चिया बनाउने उद्योगीहरु प्रशस्त छन् ।

चियाको जननी चीनमा मात्र होइन अहिले पूवी नेपालका गाउँ–गाउँमा पनि यस्ता साना घरेलु चिया उद्योगले ठूला कारखानाको चियाको गुणस्तरलाई बिर्साउने स्वाद पारखीहरुलाई दिइरहेका छन् । चीनको फुचियानमाझै इलामका गाउँ–गाउँमा अहिले यस्ता साना उद्योगहरु प्रशस्त देख्न पाइन्छ । ‘पाखोमा चिया, आँगनमा उद्योग’ अहिले इलामका अधिकांश किसानको पहिचान बन्दै गएको छ । आफ्नो जग्गा नहुनेले समेत जग्गा लिजमा लिएर भए पनि चिया बगान र कारखाना चलाइरहेका छन् ।

ठूला कारखानाको मनोमानी मूल्यको मारमा पर्न थालेपछि इलामका किसानमा आफै उद्योग खोल्ने चेत पलाएको हो । विगतमा आफ्नो बगानको हरियोपत्ति ठूला कारखानालाई बेच्दै आएका किसानले अहिले आफै ऋणपान गरेर उद्योग खोलेका छन् । घरेलु तथा साना उद्योग विकास समितिमा २३ वटा हाते चिया प्रशोधन उद्योग दर्ता भएको उद्योग अधिकृत नविनकुमार पौडेलले जानकारी दिएका छन् । जिल्लामा ७९ वटा साना चिया उद्योगहरु छन् । तीमध्ये ५३ वटाले चिया प्रशोधन गरिरहेका छन् ।

साना चिया उद्योगमा किसानको आफ्नै लगानी छ । ठूला चिया उद्योगहरुमा ठूला ब्यापारीहरुको लगानी छ । इलाममा अधिकांश ठूला चिया उद्योगहरु भारतीय ब्यापारीले लिजमा लिएर चलाइरहेका छन् । चिया कारखानाले हरियो चियापत्तिको मूल्य कम दिएपछि इलामका धेरै किसान आफैले हाते चिया प्रशोधन उद्योग खोलेका हुन् । हरियो चियापत्ति प्रशोधनको समस्या झेल्दै आएका किसानले ड्रायरमा सुकाएर हरियो चिया पत्ति प्रशोधन गर्दै आएका छन् ।

इलामका किसानले गाउँघरमै पाइने सामग्रीको उपयोग गरी चिया प्रशोधन गर्दै आएका छन् । प्रशोधनका लागि आवश्यक हरियो चियापत्ति सुकाउने ड्रायर र फेन बाहेक सबै सामग्री गाउँघरमै जुटाउन सकिने इलामको सूर्योदय नगरपालिकाका अगुवा चिया किसान काजीमान कागते बताउँछन् ।

थोरै लगानी र स्थानीय सामग्रीको प्रयोगमा चलेका यस्ता उद्योगको उत्पादन एक किसिमका उपभोक्तामा लोकप्रिय रहेको कागते बताउँछन् । उनले भने–‘साना उद्योगको उत्पादनको छुट्टै पहिचान छ । यो चिया पारखीका लागि गज्जबको स्वाद बनेर जिब्रोमा बसेको छ ।’ पाखाभरी चिया र घरघरमा थपिएका घरेलु चिया उद्योगका कारण नेपालको ‘फुचियान’ लाग्ने इलामको साँखेजुङ्गमा यस्ता साना चिया प्रशोधन उद्योग थपिंदो छ ।

ठूलो उद्योगको जगजगी चलेका बेला धेरैजसो हात्तैले चिया प्रशोधन गर्नेगरी सानो स्किममा पाथीभरा चिया प्रशोधन उद्योग खोलेका साँखेजुङ्गका मोतीराम दाहाल भन्छन्–‘यस्तो उद्योगमा ठूलो खर्च पनि लाग्दैन, आम्दानी पनि राम्रै हुन्छ ।’ अर्गानिक चिया उत्पादन गरिरहेका दाहाल थोरैतिनो बगान भएका किसानका लागि यस्तो उद्योग बढी प्रभावकारी हुने सुझाव दिन्छन् । इलामका धेरैजसो किसानको बारीमा चिया खेती रहेको जानकारी दिंदै दाहालले भने–‘अहिले त पाखामा चिया, आँगनमा उद्योग जस्तै भएको छ इलाममा ।’ इलामका किसानले आफ्नो आठ-दश रोपनी जग्गामा समेत चिया लगाएका छन् ।

इलामको साँखेजुङ्गमा ठूला बाहेक पाँच वटा हाते चिया उद्योग चलिरहेका छन् । इलामको नयाँबजार, मंगलबारे, सुलुबुङ्ग, कन्याम, जीतपुरलगायतका ठाउँहरुमा समेत हात्ते चिया उद्योग मज्जाले चलेका छन् । इलाममा चलिरहेका हाते चिया उद्योगहरुले सरदर दुई हजार किलोसम्म तयारी चिया उत्पादन गर्ने गरेका छन् । चिया प्रशोधनको परम्परागत सीप र प्रविधिलाई समेत संरक्षण गरिरहेका यस्ता साना हात्ते चिया उद्योगहरुको उत्पादन प्रतिकिलो दुई हजार पाँच सयदेखि तीन हजार पाँच सय रुपैंयाँसम्म पर्ने गरेको छ ।

साना उद्योगले उत्पादन गरेको चियाको स्वाद पारखीले मन पराइरहेको जानकारी दिंदै साँखेजुङ्गस्थित कञ्चनजंघा अर्गानिक हाते चिया उद्योगकी मिलन खत्रीले भनिन्–‘अर्गानिक र परम्परागत शैलीको उत्पादन भएका कारण पनि हाम्रो चिया जापान, रसिया र ताइवानसम्म पुगिरहेको छ ।’ इलाममा साना लगानीमा हात्ते चिया उद्योग खोल्ने र दर्ता गर्ने क्रम बढिरहेको जानकारी दिंदै घरेलु तथा साना उद्योग विकास समिति इलामका नविन पौडेलले भने–‘यस्ता साना उद्योगको उत्पादन गुणस्तरका लागि बेला मौकामा तालिम दिने र बजारीकरणमा सहयोग गर्ने काम हामीले पनि गरिरहेका छौं ।’

विगतमा इलामका हाते चिया उद्योगीहरुले घाममा सुकाएर र दाउरामा सुकाएर चिया उत्पादन गर्ने गरेका थिए । तर अहिले ड्रायर मेशिन आएपछि हरियोपत्ति सुकाउन आगोको भट्टी चलाउनु परेको छैन । यसले चियाको गुणस्तर समेत बढाएको उद्योगीहरु बताउँछन् । विगतमा घरका अलि पाका सदस्यको भरमा चलिरहेका साना हाते चिया उद्योगमा अहिले युवाहरु पनि मिसिन थालेका छन् । गाउँमै साना चिया उद्योगको चल्ने सम्भावना देखिए पनि विदेश जानका लागि खुट्टा उचालिसकेका युवाहरु पनि अहिले अडिएर उद्योगी बनेका छन् । इलाम चिया खेती सिक्न, बुझ्न र अध्ययन गर्न चाहनेहरुका लागि उतम थलोको रुपमा रहेको बताउँदै कन्यामका चिया किसान तथा उद्यमी मुकुन्द पौडेल भन्छन्–‘इलामका किसानले चियामा आफै मिहिनेत गरेका हुन् । यसमा सरकारले थोरै सहयोग गरिदिनु हो भने किसान–उद्योगीको अवस्था केहि वर्षमै उक्सिन्छ ।’

गुणस्तरयुक्त अर्गानिक चियाको माग नेपाल–भारतमा मात्र नभई तेस्रो मुलुकमा पनि रहेको केन्द्रीय चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष गोविन्द दाहाल बताउँछन् । उनी भन्छन्–‘नेपाली चियाको अन्तर्राष्ट्रि बजार विस्तारका लागि सरकारले पनि सघाउनु पर्छ ।’ यसरी सानो लगानीमा खुलेका उद्योगहरुले थोरै भए पनि स्थानीय युवाहरुलाई रोजगारी समेत दिएको छ ।

प्रकाशित : 5 November, 2017

प्रतिक्रिया दिनुहोस्