एक सातापछि नै चुनावमा खटिंदै म्यादी

सहयात्रा टिभी

काठमाण्डौ । सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि एक साताभित्रै म्यादी प्रहरीलाई कार्यक्षेत्रमा खटाउने तयारी गरेको छ । आउँदो कार्तिक २४ कात्तिकपछि म्यादी प्रहरीको छनौट सकिए लगतै कार्यक्षेत्रमा परिचालन गरिने सरकारले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मागभन्दा बढी आवेदन परेकाले जिल्ला–जिल्लामा म्यादी छनौट भइरहेको छ । ‘जिल्ला–जिल्लामा छनौट भइरहेको छ, २४ कात्तिकमा छनौट पूरा भएपछि आवश्यक निर्देशन दिएर जिल्ला सुरक्षा समितिको योजना मुताबिक उनीहरूलाई कार्यक्षेत्रमा खटाइने छ’–प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज न्यौपानेले भने ।

म्यादी प्रहरीले नेपाल प्रहरीलाई चुनावमा आवश्यक सहयोग गर्नेछन् । प्रत्येक मतदान केन्द्रमा म्यादी प्रहरीलाई नेपाल प्रहरीको सहयोगीका रूपमा खटाइने छ । छनोट सकिएपछि उनीहरूलाई सामान्य सुरक्षा प्रशिक्षण दिइने छ । ‘छनोट भएका म्यादी प्रहरीलाई केही दिन सामान्य प्रशिक्षण तथा निर्वाचन सुरक्षा तालिम र भौगोलिक जानकारीसम्बन्धी प्रशिक्षण दिइनेछ’–प्रवक्ता न्यौपानेले भने ।

निर्वाचन आयोगले १० र २१ मंसिरमा सम्पन्न हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि ९८ हजार २ सय ६८ म्यादी प्रहरी भर्ना गर्न स्वीकृति दिइसकेपछि नेपाल प्रहरीले भर्ना आवेदन खुलाएको थियो ।  म्यादीका लागि एक लाख ९५ हजार जनाले आवेदन दिएका छन् । हाल ७५ वटै जिल्ला प्रहरी कार्यालय, रुकुम र नवलपरासीका नयाँ जिल्ला समेतबाट म्यादी छनौट प्रक्रिया चलिरहेको छ । ५५ दिनका लागि छनोट भएका म्यादी प्रहरीलाई स्थानीय तह निर्वाचन सुरक्षामा खटिए सरह नै सेवा सुविधा उपलब्ध गराइने प्रहरीले जनाएको छ । निर्वाचन सुरक्षामा भर्ना गरिएका म्यादी प्रहरीले पोसाक भत्ता नगदमै पाउने भएका छन् ।

पोसाक खरिददेखि सिलाइसम्मको प्रक्रियामा आर्थिक अनियमितता हुन नदिन प्रहरी प्रधान कार्यालयले देशभरका म्यादी प्रहरीलाई तलब–भत्ता, रासन र पोसाक खर्च बापतको रकम बैंक खातामार्फत उपलब्ध गराउने भएको छ । यसअघि पनि उनीहरूलाई नगदमै भुक्तानी गरिएको थियो । प्रहरीको यो निर्णयसँगै निर्वाचनमा खटिने म्यादीका लागि करीब ६ अर्ब रुपैयाँ बैंकमार्फत भुक्तानी हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । यससँगै म्यादी प्रहरीले आफूले चाहेको ठाउँमा कपडा खरिददेखि सिलाइसम्मको काम गर्न पाउनेछन् ।

म्यादीले प्रहरी जवानसरहको मासिक तलब-भत्तालगायत सेवासुविधा पाउनेछन् ।

म्यादीले मासिक तलब २१ हजार ८ सय २२, भौगोलिक अवस्थाअनुसार रासन भत्ताबापत उपत्यकामा ५ हजार ५ सयदेखि हिमाली जिल्लामा ११ हजारसम्म पाउँछन् । यस्तै, २ लाखको दुर्घटना बिमा, १ लाख ५० हजारको स्वास्थ्य बिमा र अवकाश नपाउँदै बिरामी परेमा १ लाख ५० हजार रुपैयाँसम्म उपचार खर्चसमेत मन्त्रालयले नै बेहोर्नेछ । म्यादी प्रहरीले तलब र रासनबाहेक कपडा खरिदबापत ७ हजार १ सय रुपैयाँ तथा निर्वाचन अवधिभर १ साताका लागि दैनिक २ सय ५० भत्ता तथा खाजा खर्चअन्तर्गत ५० रुपैयाँसम्म रकम पाउनेछन् ।

खाजा खर्च र दैनिक भत्ता भने निर्वाचन सुरक्षामा खटिएका सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीसरह नै पाउनेछन् । यो सबै गरेर एकजना म्यादी प्रहरीले निर्वाचन अवधिभर खटिँदा ५५ हजारदेखि ६० हजार रुपैयाँसम्म रकम पाउने छन् ।

प्रकाशित : 5 November, 2017

प्रतिक्रिया दिनुहोस्