गुरुको आर्शिवाद थापेर चुनावी चक्करमा नेम्वाङ

सहयात्रा टिभी

काठमाण्डौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै सबैजसो दलका शीर्ष नेताहरु पनि आफ्नो जिल्लामा पुगिसकेका छन् ।

जिल्ला पुगिसकेका नेताहरुले आफ्नो जीत सुनिश्चित गर्न आफ्नो निर्वाचन क्षेत्रमा फरक–फरक शैलीमा चुनावी अभियान तय गरेका छन् । संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग पनि अहिले आफ्नो गृह जिल्ला इलाम पुगेर आफ्नो निर्वाचन क्षेत्रका मतदाता रिझाइ रहेका छन् । विगतको संविधानसभा निर्वाचनमा पनि इलामको बाँझोस्थित माङ्गसेबुङ्गमा किरात धर्मगुरु आत्मनन्द लिङ्गदेनबाट चुनाव विजयको आर्शिवाद लिने गरेका नेम्वाङ्गले यस पटक पनि गुरुको आर्शिवाद लिन छुटाएनन् । गुरुबाट आर्शिवाद लिएपछि चुनाव केन्द्रीत बनेका नेम्वाङ्ग अहिले गाउँगाउँमा चुनावी सभा र मतदाता भेटघाटमा व्यस्त छन् । नेम्वाङ्गले इलामको निर्वाचन क्षेत्र नम्बर–२ को चुनावी यात्रा थालिसकेका छन् ।

उनीसँगै गठबन्धनकै तर्फबाट प्रदेश सभाको टिकट पाएका माओवादी केन्द्रका धिरेन्द्र शर्मा रमणले पनि गुरुबाट आर्शिवाद थापेर चुनावी अभियानमा होमिएका छन् । संविधान सभा निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका उच्च नेताहरु गुरुको आर्शिवाद माग्न पुगेका थिए । स्थानीय तह निर्वाचनको समयमा पनि कांग्रेस नेता गगन थापासहितका व्यक्तिले गुरुसँग भेट गरी आर्शिवाद मागेका थिए । इलामको निर्वाचन क्षेत्र नम्बर–२ को मत परिणाममा गुरुको आर्शिवादले पनि काम गर्ने स्थानीय नागरिक बताउँछन् ।

नेम्वाङले माङ्गसेबुङबाट चुनावी कार्यक्रम थालेका छन् भने एमालेका तर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेद्वार बरिष्ठ नेता झलनाथ खनालले माई नगरपालिकाका विभिन्न कार्यक्रममार्फत चुनावी कार्यक्रम गरिरहेका छन् । नेपाली कांग्रेसका तर्फबाट निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेद्वार चुलाचुलीमा भेटघाटमा व्यस्त छन्। यस्तै निर्वाचन क्षेत्र नम्बर–१ मा कांग्रेसका उम्मेद्वार सूर्योदय नगरपालिकामा कार्यकर्ता भेटघाटमा रहेको कांग्रेस इलामका सचिव निरज खड्गीले बताएका छन् । वाम गठबन्धन र कांग्रेसले अब चुनावी कार्यक्रम तय गरेर अघि बढ्ने बताएका छन् ।

प्रकाशित : 6 November, 2017

प्रतिक्रिया दिनुहोस्