अमेरिकी सभामुख सँग नभेट्न ताइवानी राष्ट्रपतिलाई चीनको चेतावनी
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । चैत १५, ताइवानका राष्ट्रपति साई इङ वेनले संयुक्त राज्य अमेरिका भ्रमणका क्रममा त्यहाँको प्रतिनिधि सभाका सभामुखलाई भेटेमा चीनले त्यसविरुद्ध लड्ने चेतावनी दिएको छ ।
राष्ट्रपति साई आफ्ना सहयोगीहरूसँगको कुटनीतिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यका साथ ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा आज बुधवार अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ ।
भ्रमणका क्रममा अमेरिकामा रहँदा उहाँले प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने बताउनुभएको थियो ।
चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कुटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ ।
राष्ट्रपति साई सभामुख म्याकार्थीबीचको कुनै पनि बैठक आफूलाई अमान्य हुने उल्लेख गर्दै बेइजिङले यदि उहाँले भेटवार्ता गरेमा त्यसविरुद्ध लड्न दृढ उपाय अवलम्बन गर्ने चेतावनी दिएको छ ।
राष्ट्रपति साईले अमेरिकी सभामुखलाई भेटेमा त्यो अर्को उक्साहट हुने तथा त्यसबाट एक चीन नीतिको गम्भीर उल्लङ्घन हुने ताइवान मामिला कार्यालयका प्रवक्ता झु फेङ्लियनले बताउनुभएको छ ।
उहाँले चीनको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउने कुनै पनि गतिविधि सह्य नहुने बताउनुभएको छ ।