थ्री नेसन्स कप उपाधिका लागि नेपाल र लाओस भिड्दै

सहयात्रा टिभी

काठमाडौं । चैत १७, घरेलु टोली नेपाल र लाओसको राष्ट्रिय टोलीले आज (शुक्रबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

यो खेल साँझ ५ः३० बजेपछि हुनेछ । समूह चरणपछि शीर्ष दुई टोलीबीचको यो उपाधि भिडन्त अनौपचारिक मैत्रीपूर्ण मात्रै हुनेछ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सिमित अवधिमा तोकिएको खेललाई मात्रै आधिकारिकता दिने गर्दछ ।

फिफाले हरेक वर्ष ६ देखि ७ पटक ‘फिफा डे’ अर्थात् अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा प्रतियोगिताका लागि मिति छुट्याउने गरेको छ । विश्वभर नै लागु हुने नियम अनुसार यसपटक २०–२८ मार्चलाई फिफा डे तोकिएको थियो । यसबीचमा हरेक राष्ट्रले अधिकतम २ खेल खेल्न पाउने प्रावधान रहेको थियो ।

नेपालले यसपटक ३ देशको सिनियर टोलीलाई नै थ्री नेसन्स कपमा सहभागी गराएको थियो । त्यसैले समूह चरणका तीनै खेलले अधिकारिक अन्तर्राष्ट्रिय खेलको मान्यता पाए । तर फाइनल खेलका लागि भने फिफा डे को मिति र अधिकतम २ खेल पनि सकिएका कारण फाइनल खेल ‘अनौपचारिक मैत्रीपूर्ण’ मात्र हुने भएको हो ।

नेपाल र लाओसको खेल प्रतियोगिताको उपाधिका लागि भएपनि यसले खेलाडीको खेल संख्या र गोल मापन हुँदैन भने दुवै देशको नतिजा र फिफा वरीयतामा कुनै असर गर्ने छैन ।

फिफाबाट यस खेलले अधिकारिक मान्यता नपाउने भएपनि यो फाइनल खेल दुवै टोलीलाई मनोबल उच्च पार्न महत्वपूर्ण खेल हुनेछ । लाओसका प्रशिक्षक माइकल वाइसले खेल अनौपचारिक भएपनि आफ्नो टोलीले निकै महत्व दिएर खेल्ने बताएका छन् । कप्तान सुकाफोन वोंगचेंगखामले पनि लाओसले हालसम्म फाइनल पुगेको थाहा नभएकाले जितका लागि खेल्ने बताए ।

नेपालका कप्तान किरण चेम्जोङले फिफा डे मा नभएपनि टोलीको मनोबलको लागि यो खेल महत्वपूर्ण रहेको बताएका छन् । नेपालले समूह चरणमा लाओसलाई २–० ले पराजित गर्न सफल भएको थियो । त्यस खेलमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरेका थिए । दुवै जनाको गोल निकै उत्कृष्ट थियो ।

लाओसविरुद्ध मिडफिल्डर पुजन उपरकोटी र फरवार्ड अन्जन विष्ट टोलीमा हुनेछैनन् । यसको प्रभाव टोलीमा पर्नेछ । तर, नेपालसँग दीपक राज सिंह ठकुरी, एरिक विष्ट, नवयुग श्रेष्ठ, भरत खवास, आयुष घलान, रोहित चन्द ठकुरी, विकास खवास, मणि कुमार लामा, कमल थापा र कप्तान तथा गोलरक्षक किरण चेम्जोङ टोलीमा रहेका छन् ।

प्रकाशित : 31 March, 2023

प्रतिक्रिया दिनुहोस्