निजी क्षेत्रमाथि पनि अदुअआले अनुसन्धान गर्न पाउने विधेयक पारित
सहयात्रा टिभी
काठमाडौँ । चैत २८, राष्ट्रिय सभाले बैंक, मेडिकल कलेज र अस्पताल लगायत निजी क्षेत्रमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले अनुसन्धान गर्न पाउने गरी दुई वटा विधेयक पारित गरेको छ ।
सोमबार राष्ट्रिय सभाबाट पारित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकले अख्तियारको क्षेत्राधिकार विस्तार गरेर निजी क्षेत्रमाथि पनि अनुसन्धान गर्न सक्ने बनाएको हो ।
प्रचलित ऐनमा ‘सार्वजनिक संस्था’को परिभाषामा ‘नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रण भएको कम्पनी, बैंक वा समिति, आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् वा यस्तै प्रकृतिका संगठित संस्था’ भनी समेटिएको छ । जो अदुअआको अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्र हो ।