वाम गठबन्धनको काठमाण्डौमा एकता, गोरखाबाट चुनावी अभियान

सहयात्रा टिभी

काठमाण्डौं । काठमाण्डौंबाट एकता अभ्यास शुरु गरेको नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले गोरखाबाट चुनावी अभियानका कार्यक्रम थालनी गर्ने भएको छ ।

चुनावीसभालाई एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्वोधन गर्ने कार्यक्रम तय भएको छ ।  चुनावी अभियानलाई पार्टी एकताको अभ्यास र वाम गठबन्धनका उम्मेद्वारलाई जिताउने अभियानको थालनीको रूपमा लिइएको । पार्टी एकताको अभ्यासको शुरूवात भने बुधबारै काठमाडौं क्षेत्र नम्बर–२ बाट नै शुरू गरिएको छ । जहाँ माओवादी केन्द्रको चुनावी सभालाई एमाले नेता माधवकुमार नेपाल प्रमुख अतिथि बनेर सम्वोधन गरेका थिए । चुनावलाई लक्षित गर्दै एमाले र माओवादीले चुनावी कार्यक्रम अन्तर्गत ताप्लेजुङ–दार्चुला अभियान शुरु गरेका छन् ।

१९ कात्तिकमा ताप्लेजुङमा भएको सभामा प्रचण्ड उपस्थित हुन नसकेपछि ओलीले मात्रै सम्वोधन गरेका थिए । ओली र प्रचण्डको संयुक्त चुनावी सभा भने आगामी २९ गते गोर्खाबाट शुरु हुनेछ । गोर्खाका चार स्थानमा सभा आयोजना हुने वाम गठबन्धनका नेताहरुले बताएका छन् । वाम गठबन्धनबाट नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक प्यानलबाट डा. बाबुराम भट्टराई उम्मेद्वार बनेकाले गोरखाको विशेष चर्चा भइरहेको छ ।

गोरखापछि कात्तिक ३० गते स्याङ्जा र बाग्लुङमा संयुक्त चुनावी सभा हुनेछ । मंसिर २ गते झापाको दमकमा र ३ गते काँकडभिट्टामा सभा आयोजना गरिने छ । झापा क्षेत्र नम्बर–५ मा एमाले अध्यक्ष ओली स्वयम् उम्मेद्वार छन् । झापाको क्षेत्र नम्बर–१ मा माओवादी नेता राम कार्कीलाई सघाएको एमालेले अरु सबै क्षेत्र आफूले लिएको छ । यसैगरी ३ गते नै मोरङको विराटचोकमा, ५ गते रुपन्देहीको बुटवलमा र दाङमा, ७ गते सुर्खेत र दैलेखमा, ८ गते कैलाली र कञ्चनपुरमा तथा ९ गते पोखरामा चुनावी सभा गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित : 9 November, 2017

प्रतिक्रिया दिनुहोस्