सार्वजनिक सवारीका चालक, सह–चालकलाई पनि छुट्टै पोसाक !

सहयात्रा टिभी

काठमाण्डौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारीका चालक तथा सहचालकलाई अनुशासित बनाउन छुट्टै पोसाकको व्यवस्था गर्न लागेको छ । उपत्यकामा गुड्ने सार्वजनिक सवारीका चालक तथा सहचालकको पहिचान झल्कने गरी पोसाक व्यवस्था गर्न लागेको महानगरीय प्रहरी महाशाखाले जनाएको छ ।

पहिलो चरणमा भएको छलफलमा नै उपत्याकका झण्डै ५० वटा यातायात समितिले पोसाक (युनिर्फम) तोक्ने विषयमा सहमति जनाएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिए । यो प्रयासलाई सफल बनाउन महाशाखा प्रमुख सर्वेन्द्र खनाल आफैं व्यवसायीसँग चरणबद्ध छलफलहरुमा सक्रिय छन् ।आउँदो सोमबार पनि व्यवसायीहरुसँग छलफल कार्यक्रम तय गरिएको जनाइएको छ ।

‘छलफलमा कस्तो किसिमका ड्रेस, कसरी लागू गर्ने भन्नेबारे निर्णय हुन सक्छ’–रञ्जितकारले भने–‘व्यवसायीहरुले नै आफ्नै खर्चमा यो व्यवस्था लागू गर्ने भएकाले उहाँहरुकै सहमतिमा निर्णय हुन्छ ।’ पछिल्लो समयमा सार्वजनिक सवारीमा यात्रुहरु चालक तथा सहचालबाटै दुब्र्यवहारमा पर्ने क्रम बढेको छ । उनीहरुलाई आफ्नो पेशाप्रति उत्तरदायी बनाउन युनिर्फम तोक्न लागिएको ट्राफिक प्रहरीले जनाएको छ ।

‘पोशाक लगाएपछि चालक, सहचालकको व्यवहारमा सुधार आउँछ । यसले अन्तर्राष्ट्रिय रुपमा पनि राम्रो सन्देश जान्छ’–प्रवक्ता रञ्जितकार भन्छन्–‘भीडमा पनि यातायात मजदुरलाई सजिलै चिन्न सकिन्छ । यसले उनीहरुलाई मर्यादमा बस्न पनि बोध गराउँछ ।’ उपत्याकामा झण्डै ३२ हजार सार्वजनि सवारी चल्ने गरेका छन् । ट्याक्सीका हकमा पनि युनिर्फमको व्यवस्था गर्न लागिएको महाशाखाले जनाएको छ । अहिले साझा यातायात, केही ट्याक्सी सेवा प्रदायक कम्पनीले चालकका लागि पोशाक तोकेका छन् उपत्याकका निजी विद्यालयका बसका चालक तथा सहचालकलाई पनि छुट्टै पोशाक व्यवस्था गर्न महाशाखाले प्याबसन तथा एन प्याबसनलाई आग्रह गरेको छ । दुई संस्थाले मंसिरको शुरुवातबाट विशेष पोशाक व्यवस्था गर्न सहमति जनाएको महाशाखाले जनाएको छ ।

प्रकाशित : 9 November, 2017

प्रतिक्रिया दिनुहोस्