राष्ट्रपतिद्वारा चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण

सहयात्रा टिभी

काठमाण्डौं । लामो आनाकानीपछि राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा अध्यादेश २०७४ प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्ति अनुसार मन्त्रिपरिषद्को कात्तिक ६ गतेको बैठकबाट सिफारिस भएको अध्यादेश राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गरेकी हुन् । संसदबाट यो विधेयक पारित गराउन अन्तिम समयसम्म प्रयास भए पनि पारित हुन सकेको थिएन ।

मन्त्रिपरिषद्ले अध्यादेश पारित गर्न सिफारिस पठाएको लामो समयसम्म पनि राष्ट्रपतिबाट अध्यादेश जारी नभएपछि डा. गोविन्द केसीलगायतको टोलीले बिहीबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेको थियो । प्रधानमन्त्रीले आफूले दुई दिन अगाडि मात्र भेटेर कुरा गरेको बताउँदै राष्ट्रपतिले अध्यादेश रोक्न नपाउने र आफूले कुरा गर्ने बताएका थिए । नेपालको संविधानको धारा ११४ अनुसार अध्यादेश ऐन सरह मान्य हुनेछ ।

तर त्यस्तो अध्यादेश जारी भएपछि निस्क्रिय हुने तीन वटा अवस्था छन् । अध्यादेश जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गरिने र दुवै सदनले स्वीकार नगरेमा स्वतः निस्क्रिय हुनेछ । राष्ट्रपतिबाट जुनसुकै बखत खारेज हुनसक्नेछ । निस्क्रिय वा खारेज नभएमा दुवै सदनको बैठक बसेको ६० दिनपछि स्वतः निस्क्रिय हुनेछ । यी तीन अवस्था नभएको खण्डमा अध्यादेश लागू हुने जनाइएको छ ।

प्रकाशित : 10 November, 2017

प्रतिक्रिया दिनुहोस्