सञ्चारमाध्यममा साइबर क्राइम नियन्त्रण गर्न नयाँ कानून आवश्यक

सहयात्रा टिभी

काठमाडौं । सञ्चारमाध्यममार्फत विद्युतीय कारोबार साइबर क्राइम सम्बन्धी घटना बढेकाले नियन्त्रण गर्न नयाँ कानून आवश्यक भएको सहभागीले बताएका छन् ।

प्रेस काउन्सिले नेपालले शुक्रबार यहाँ ‘साइबर क्राइम र सञ्चारमाध्यम’ विषयमा पत्रकार र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीसँग गरेको अन्तक्र्रियामा उनीहरुले अहिलेको विद्युतीय कारोबार ऐन, २०६३ ले साइबर क्राइम नियन्त्रण गर्न नसक्ने भएकाले नयाँ कानून आवश्यक भएको बताएका हुन् ।

कार्यक्रममा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चारमाध्यमलाई बढी प्रेस स्वतन्त्रता दिँदा साइबर क्राइमजस्ता विकृति बढेकाले नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । साइबर क्राइम रोक्न काउन्सिल तयार रहेको बताउँदै उहाँले भन्नुभयो, “सिआइबीसँग सहकार्य गरेर सञ्चारमाध्यमलाई मर्या्दित बनाउन हामी तयार रहेका छौँ ।”

कार्यक्रममा सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले सञ्चारमाध्यमबाट नै साइबर क्राइम बढेकाले यसलाई रोक्न काउन्सिलले अग्रसरता देखाउनुपर्ने बताउनुभयो । उच्च ओहोदाका व्यक्ति र सेलीब्रेटीका व्यक्तिगत विषयमा देश तथा विदेशबाट सञ्चालित अनलाइन पोर्टलबाट सार्वजनिक बेइज्जती, लाञ्छना लगाउने गरी विषयवस्तु प्रसारित हुने गरेको बताउँदै विद्युतीय कारोबार ऐन, २०६४ ले अहिलेका विकृति रोक्नका लागि समस्या भएकाले परिमार्जन गर्नुपर्ने उहाँको जोड थियो ।

काउन्सिलका सदस्य ईश्वरी ओझाले सञ्चारमाध्यममा साइबर क्राइमसम्बन्धी विकृति आएकाले नयाँ कानून ल्याउन तयारी भएको बताउनुभयो । अधिवक्ता बाबुराम अर्यालले पत्रकारले आफ्नो पेशाप्रति इमान्दार भएर काम गर्ने हो भने साइबर क्राइम नबढ्ने विश्वास व्यक्त गर्नुभयो ।

रासस

प्रकाशित : 10 November, 2017

प्रतिक्रिया दिनुहोस्