उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परे

काठमाडौं । बैशाख २०, उपराष्ट्रपति कार्यालयको सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे प्रहरी कार्यालयमा उपस्थित भएको जानकारी प्राप्त भएको छ ।
पक्राउ परेका सचिव पाण्डे अहिले उपराष्ट्रपति कार्यालयका सचिव हुनुहुन्छ भने उहाँ यसअघि गृह मन्त्रालयको समेत सचिव भइसक्नुभएको छ । प्रहरीले मंगलबार मात्र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो ।
राईमाथि तत्कालीन सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा विभिन्न कारणले छुटेका भुटानी शरणार्थीको सूचीमा अरुको नाम थपेर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ ।
बादल गृहमन्त्रीबाट हटेपछि बालकृष्ण खाँण गृहमन्त्री भए, उनकै जोडबलमा पाण्डेलाई गृह सचिव बनाइएको थियो । पाण्डेमाथि पनि शरणार्थी भनेर अमेरिका पठाएर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ ।