दमकमा पहिचान पक्षधर र प्रहरीबीच झडप

बिर्तामोड । बैशाख २७, पहिचान पक्षधर र प्रहरीबीच मंगलबार साँझ झापाको दमकमा झडप भएको छ । झडपमा परी १० जना प्रहरी र २ जना आन्दोलनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै पहिचान पक्षधरले मंगलबार साँझ दमकमा राँके जुलुस निकालेका थिए । जुलुस गणतन्त्र चोकमा पुगेपछि प्रहरीले राँको निभाउन खोज्दा झडप भएको थियो । जुलुसमा सहभागीहरूले प्रहरीमाथि राँको, इँटा र ढुंगा प्रहार गरेका थिए ।
स्थिति तनावपूर्ण बनेपछि प्रहरीले एक राउन्ड गोली प्रहार गरेको थियो । प्रहरीको गोली लागेर जुलुसमा सहभागी गजेन्द्र फागो र अर्का एक जना गरी दुई जना घाइते भएका छन्
आन्दोलनकारीको ढुंगा लागेर इलाका प्रहरी कार्यालय दमकका डीएसपीसहित १० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र १९ सेल अश्रुग्यास प्रहार गरेको थियो । घाइतेहरूको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।