जीत सुनिश्चित भएपछि सुनियोजित आक्रमण–खनाल

सहयात्रा टिभी

इलाम । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशभर वाम गठबन्धनको जीत सुनिश्चित भएको पाएपछि विरोधीहरुले आफ्ना उम्मेद्वारहरुमाथि लक्षित गरेर आक्रमणका प्रयासहरु बढाइरहेको आरोप लगाएका छन् ।

इलामको माई नगरपालिका– १० मा आइतबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त गरेर मुलुकलाई स्थायी शान्ति र समृद्धिको बाटोमा लैजाने दावी गरे । उनले भने–‘वाम गठबन्धन अब एकताको प्रक्रियामा अघि बढेको छ, एकता हुने भएपछि दक्षिणपन्थी र कांग्रेस अत्तालिएका छन् ।’

निर्वाचनपछि आर्थिक समृद्धिको बाटोमा मुलुकलाई लैजानका लागि नयाँ योजनाका साथ वाम गठबन्धन गरिएको उल्लेख गर्दै उनले यहि देखेर अहिले वाम गठबन्धनका उम्मेद्वारमाथिको आक्रमण भइरहेको टिप्पणी गरे । इलामलाई पर्यटकीय जिल्लाका रूपमा अघि बढाउने योजनाका साथ आफू निर्वाचनमा होमिएको बताउँदै खनालले इलामको अन्तु, कन्याम, सन्दकपुर र माइपोखरीको पर्यटनको विकासका लागि दीर्घकालीन योजनाहरु ल्याउने प्रतिवद्धता जनाए ।

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्