नगर प्रमुखको जग्गा विप्लव माओवादीको कब्जामा

सहयात्रा टिभी

खोटाङ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले हलेसी–तुवाचुङ नगरपालिकाका प्रमुख इबन राईको घर–जग्गा तथा सम्पत्ति कब्जामा लिएको घोषणा गरेको छ ।

राई दलाल संसदीय व्यवस्थाको मतियार बनेको आरोप लगाउँदै पार्टीले बिज्ञप्ति टाँसेर राईको घर जग्गा नियन्त्रणमा लिएको घोषणा गरेको हो । साबिकको मंगलटार–२ मा पर्ने हलेसी तुवाचुङ नगरपालिका–६ का प्रमुख राईको नियन्त्रित घर, जग्गा, सम्पत्ति जनताले उपभोग गर्ने बिज्ञप्तिमा उल्लेख छ । बिहान उठ्दा मात्रै आफ्नो घरको आँगनमा पार्टीको झण्डा गाडेको र घरको भित्तामा गोबरले विज्ञप्ति टाँसेको देखेको नगर प्रमुख राईले बताए।

नगरपालिकाको पहिलो नगरसभाबाट आधा बजेट आफूहरुलाई बिनियोजन गर्न उक्त पार्टीले आफूलाई दवाव दिंदै आएको पनि राईले बताएका छन् । ‘हाम्रो पनि समानान्तर सरकार छ भन्थे’–नगर प्रमुखले राई भने–‘आधा कार्यक्रम हामी सञ्चालन गर्छाैं भन्दै पटक–पटक नगरको आधा बजेट माग गरेका थिए ।’ नगर प्रमुख राईलाई आसन्न निर्बाचन प्रचार–प्रसारमा नहिंड्न समेत पार्टीले चेतावनी दिंदै आएको थियो । राई खोटाङका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखलाई जानकारी गराएर निर्वाचन प्रचार–प्रसारमा हिंडेका थिए ।

प्रकाशित : 13 November, 2017

प्रतिक्रिया दिनुहोस्