सिंहदरबारस्थित कार्यालयमा सार्वजनिक लेखा समितिको बैठक प्रारम्भ

काठमाडौं । जेठ २, सार्वजनिक लेखा समितिको बैठक प्रारम्भ भएको जानकारी प्राप्त भएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।
आम निर्वाचन सम्पन्न भएको पाँच महिनापछि आजबाट संसदीय समितिको बैठक सुरु भएको हो । समितिहरूको सभापति चयन भई नसकेकाले ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक सुरु गरिएको हो ।
लेखा समितिका ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीको सभापतित्वमा बैठक प्रारम्भ भएको छ । त्यसैगरी पूर्वाधार विकास समितिको बैठक पनि सुरु भएको छ ।
सो समितिका ज्येष्ठ सदस्य नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीको सभापतित्वमा पूर्वाधार विकास समितिको बैठक सुरु भएको हो ।