सहुलियत कर्जाको ब्याज अनुदानका लागि मात्रै २२ अर्ब ३९ करोड खर्च
सहयात्रा टिभी
काठमाडौं । जेठ २, सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि मात्रै २२ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०७५ सालमा विभिन्न ७ वटा शीर्षकको कर्जामा ५ देखि ६ प्रतिशतसम्म ब्याज अनुदान दिने गरी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ जारी गरेको थियो ।
पछि त्यसलाई संशोधन गरी विभिन्न १० क्षेत्रका कर्जामा ब्याज अनुदान दिने व्यवस्था भएको थियो । कार्यविधि जारी भएयता २०७९ चैत मसान्तसम्म प्रवाह भएको कर्जाका लागि ब्याज अनुदानमा मात्रै २२ अर्ब ३९ करोड ८ लाख १६ हजार रुपैयाँ खर्च भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चैत मसान्तसम्म सहुलियतपूर्ण कर्जाका विभिन्न १० वटा शीर्षकमा २ खर्ब ५ अर्ब ११ करोड ४२ लाख रुपैयाँ ऋण लगानीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
१ लाख ४७ हजार ८०७ जना ऋणीलाई कुल २ खर्ब ५८ अर्ब ३५ करोड ६२ लाख ६२ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।
स्वीकृति भएको ५८ अर्ब सहुलियतपूर्ण कर्जामध्ये ५३ अर्ब भन्दा बढी ऋण असुल भएको छ भने अन्य ऋण असुल हुँदै गरेको छ ।
सरकारले ब्याज अनुदानका लागि विनियोजन गरेको स्रोतले लगानीमा रहेको कर्जाको मात्रै ब्याज अनुदानलाई नै पुग्ने हुने अवस्था आएपछि चालु आर्थिक वर्षमा राष्ट्र बैंकको अनौपचारिक निर्देशनको आधारमा बैंकहरुले सहुलियतपूर्ण कर्जा रोकेका छन् ।


