आगामी २०२६ मा हुने फिफा विश्वकपको लोगो सार्वजनिक
काठमाडौं । जेठ ४, आगामी २०२६ मा हुने फिफा विश्वकपको लोगो सार्वजनिक भएको छ । सन् २०२६ को फिफा विश्वकप आउन अझै तीन वर्ष बाँकी छ ।
तर, फुटबल नियामक निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार विश्वकपको लोगो सार्वजनिक गरेका छन् ।
सरल डिजाइनको लोगो भएकै कारण समर्थकहरुले यसको मजाक उडाइरहेका छन् । ५३ वर्षीय इन्फान्तिनोले एक समारोहका बीच लोगो अनावरण गरेका हुन् । कार्यक्रममा विश्वभरका सेलिब्रिटीहरुको उपस्थिति थियो भने केहि रेकर्डेड प्रस्तुतिहरु पनि देखाइएको थियो ।
ब्राजिलका विश्व विजेता रोनाल्डो नाजारियो दा लिमाले आफ्नो हातमा विश्वकप लिएर मञ्चमा निस्किए र इन्फान्तिनोसँग मिलेर लोगो अनावरण गरे ।
फिफाका बिजनेश अफिसर रोमी गाईले यसपल्ट विश्वकपको लोगो किन सरल डिजाइनमा छ भनेर प्रष्ट पारेका छन् ।
‘यो लोगोले समर्थकहरुलाई नयाँ प्रतीक, टाइपफेस र मुख्य रंग गरी तीन रोमान्चक तत्वहरुको परिचय गराउँछ । जसले आगामी महिना र वर्षहरुमा यो प्रतियोगितालाई जीवन्त बनाउनेछ,’ उनले थपे ।
उनले सरल लोगोले मानिसहरुलाई थुप्रै तरिकाबाट प्रयोग गर्न सहज हुने पनि दावी गरेका छन् ।