आईजीपी कुँवरलाई विवादमा तान्नु निन्दनीय भएको नेपाल प्रहरीको टिप्पणी

काठमाडौं । जेठ १०, नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरलाई विवादमा तान्नु निन्दनीय भएको बताएको छ ।
बुधबार एक विज्ञप्ति जारी प्रहरी प्रधान कार्यालयले कुनै व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकलाई जोड्नु गलत भएको टिप्पणी गरेको छ ।
नेपाल प्रहरी संविधान, कानुन र संगठनको मूल्य मान्यतामा अडिग रहेको भन्दै प्रहरी प्रधान कार्यालयले दोषी नछुटुन् र निर्दोष नफसुन् भन्नेमा सचेत र प्रतिवद्ध रहेको पनि बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अपराधी जोसुकै होस्, उसलाई बचाउन होइन सजाय दिलाउनका लागि नागरिक र प्रहरी दुबैको सहकार्य र समन्वय हुनुपर्नेमा कुनै आधार तथ्य प्रमाणविना महानिरीक्षकलाई विवादमा तानेर अपराधी जोगाउन प्रयासरत रहेको भनिनुले समग्र संगठनको छविमा आँच पुगेको छ ।’