केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘सिम्फरोपोल डिटेन्सन सेन्टर’ जहाँ मान्छेहरु मृत्युको भिख माग्छन्

सहयात्रा टिभी

काठमाडौँ । जेठ १६, ‘सिम्फरोपोल डिटेन्सन सेन्टर’ एउटा यस्तो अनौठो जेल भित्रको यथार्थ सार्वजनिक भएको छ, जसको बारेमा सायदै कसैले सुनेको होला ।

त्यहाँ मानिसहरुलाई यस्तो यातना दिइन्छ कि उनीहरु आफैंले आफ्नो मृत्युको लागि भिख माग्न थाल्छन् ।

यो कथा एउटा रुसी जेलको हो । उक्त जेलमा युक्रेनी बन्दीहरुलाई राखिएको छ । जबदेखि रुसले युक्रेनमाथि आक्रमण गर्यो, त्यसयता हजारौँ युक्रेनी नागरिकहरुलाई पक्राउ गरी रुसले संसारकै खतरनाक जेलमा राखेको बताइन्छ ।

डेलीस्टारको रिपोर्ट अनुसार उक्त जेलको नाम ‘सिम्फरोपोल डिटेन्सन सेन्टर’ हो । अलेक्जेन्डर टाकारोभ त्यहाँ सन् २०२२ को मे महिनामा कैद गरिएका थिए ।

उनै टाकारोभले क्रेमलिन तथा रुसको विरोध गर्ने एक न्यूज वेबसाइटमा सो जेलका बन्द ढोकाहरु भित्रको सत्यता सार्वजनिक गरेका छन् । उनले उक्त समाचार साइटसँग जेलभित्र कैदीको अपराध गम्भीर वा सामान्य भन्ने कुरालाई कुनै परवाह नगरी कसरी सजायँ तथा यातनाको रुपमा बिजुलीको झट्का दिइन्छ भन्ने बताएका छन् ।

उनका अनुसार बन्दीहरु जेलबाट नभागुन् भन्नका लागि खतरनाक कुकुरहरुलाई बाहिर राखिएको छ । उनी भन्छन्– यस्तो लाग्छ कि बिजुलीको करेन्ट हरेक मांसपेशी फाइबरका माध्यमबाट शरीरमा जान्छ र पड्किन्छ ।

त्यसपछि मांसपेशी नै खुम्चिन थालेझैं महसुस हुन्छ । जब तपाईंलाई यस्तोखाले यातना दिइन्छ तब तपाईं आफैंले आफूलाई बचाउनका लागि केही गर्न सक्नुहन्न र प्रयास गर्नुभयो भने पनि झनै यातना दिइन्छ ।

टाकारोभका अनुसार जेलमा हाल्नुअघि उनलाई रुसको कब्जामा रहेको एउटा भवनको भूमिगत तलामा यातना दिइएको थियो ।

उनका कानमा बिजुलीका तार राखेर करेन्ट लगाइयो र प्रदर्शनमा सहभागी भएका मानिसहरुको नाम सोधियो । एकजना रुसी एजेन्टले त उनको कन्चटमा बन्दुक राखेर मार्ने धम्की समेत दिए । सो जेललाई मध्ययुगीन कालकोठरीको संज्ञा उनले दिएका छन् ।

सो जेलमा कैदीको रुपमा बसेका मेक्सिम नामका अर्का एक व्यक्तिले पनि त्यहाँको बारेमा बताएका छन् । रुसी सेनाले आफूलाई लुहान्स्कमा मृत्युदण्ड वैध रहेकाले आफूलाई त्यहाँ पठाएर गोली हानेर मार्ने धम्की दिने गरेको उनी बताउँछन् ।

रुस–युक्रेन युद्धको सुरुवातदेखि नै युद्ध अपराधका आरोपहरु रुसमाथि लाग्दै आएका छन् । तर रुसले त्यस्ता दाबी खारेज गर्दै आएको छ ।

रुस र युक्रेनबीच सन् २०२२ को फेब्रुअरी २४ देखि युद्ध सुरु भएको थियो जुन अहिलेसम्मै जारी छ । रुसले युक्रेनका कैयन् ठाउँहरु कब्जा गरेर आफ्नो मुलुकमा गाभिसकेको छ जसमा पूर्वी युक्रेनका विभिन्न क्षेत्रहरु समेत सामेल छन् ।

सन् २०१४ मा क्रिमिया गुमाएको युक्रेनले अब क्रिमिया त परको कुरा अब पछिल्लो युद्धका गुमेका आफ्ना अन्य भूभागहरु समेत फिर्ता पाउने सम्भावना क्षीण छ ।

–एजेन्सी

 

प्रकाशित : 30 May, 2023

प्रतिक्रिया दिनुहोस्