नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न सम्झौता हुँदै

सहयात्रा टिभी

काठमाडौँ । जेठ १७, नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न दुई पक्षीय सम्झौता हुने भएको छ ।

अहिलेसम्म कार्डको माध्यमबाट वस्तु तथा सेवा खरिदमा क्रस बोर्डर (अन्तरदेशीय) भुक्तानी गर्न सकिएपनि क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न पाइँदैन ।

यसका लागि नेपाल र भारतमा भुक्तानी प्रणाली सञ्चालन गरिरहेको दुई कम्पनीहरुको ‘सिस्टम कनेक्ट’ गर्ने सम्झौता हुनेछ ।

नेपाल राष्ट्र बैंकको समेत लगानीमा स्थापना भएर विद्युतीय भुक्तानी प्रणाली विकास गरेको नेपाल क्लियरिङ हाउस र रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को समेत लगानीमा भारतमा विद्युतीय भुक्तानी प्रणालीको सिस्टम विकास गरेको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाको प्रणाली इन्ट्रिग्रेसन मार्फत नेपाल भारत क्रस बोर्डर विद्युतीय भुक्तानीको सम्झौता हुने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नै उक्त सम्झौता हुने भएको हो । सोही सम्झौताका लागि नेपाल क्लियरिङ हाउसको प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधान पनि भारत भ्रमणमा छन् । तर, भ्रमणमा राष्ट्र बैकका प्रतिनिधि भने छैनन् ।

सम्झौतापछि नेपाली नागरिकले भारतीय बजारमा र भारतीय नागरिकले नेपालमा वालेट र मोबाइल बैंकिङको माध्यमबाट क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्नसक्ने छन् । नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इण्डियाबीच क्रस बोर्डर विद्युतीय भुक्तानी सुरु गर्न छलफल भएर पूर्वतयार पुरा भएपनि प्रधानमन्त्रीको भारत भ्रमाणमा उक्त सम्झौता हुन लागेको हो ।
विद्युतीय भुक्तानीमा पनि राष्ट्र बैंकले सीमा तोक्नुपर्ने बैंकर्सहरु बताउँछन् । अन्यथा नेपालबाट पूँजी बाहिरिने जोखिम हुने उनीहरुको अनुमान छ ।

 

प्रकाशित : 31 May, 2023

प्रतिक्रिया दिनुहोस्