बंगलादेशले ‘अखण्ड भारत’ नक्साबारे भारतसँग स्पष्टीकरण माग्दै
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । जेठ २४, बंगलादेशले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न दिल्लीस्थित आफ्नो मिसनलाई निर्देशन दिएको छ ।
बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमले ढाकामा पत्रकारसँग कुरा गर्दै उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको बताए ।
उनले प्राचीन भारतको साम्राज्य पूर्वदेखि पश्चिम फैलिएको देखिएको उक्त नक्सामा नेपाल र पाकिस्तानमा समेत विरोध भइरहेको जानकारी गराए ।
बंगलादेशको विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टीका नेताले उक्त नक्सा ‘बंगलादेशको स्वतन्त्रता र सार्वभौमिकताको लागि खतरा’ भनेर वर्णन गरेको दुई दिन पछि विदेश राज्यमन्त्री आलमको यो टिप्पणी सार्वजनिक भएको हो ।
नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चार दिने भ्रमणका क्रममा उक्त विषयलाई नउठाएको भन्दै संसदमा प्रतिपक्षी दल नेकपा एमालेले आलोचना गरिरहेको छ ।
यसअघि विपक्षी दलले उठाएको अखण्ड भारत नक्सामाथि जवाफ दिँदै प्रचण्डले ‘भारतको संसद भवनमा राखिएको उक्त नक्सा अखण्ड भारतको सांस्कृतिक नक्सा भएको र समकक्षी मोदीसँग आफूले यस विषयमा कुरा उठाएको’ बताएका थिए ।
त्यसपछि प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले मुलुकको सार्वभौमिकतामाथि प्रश्न उठ्दा प्रधानमन्त्रीले नै सांस्कृतिक नक्सा भनेर भन्नु उचित नभएको संसदमा बताएका थिए ।
अखण्ड भारत स्पष्टीकरण