ए डिभिजन लिग फुटबलमा खेल सञ्चालन गरिरहेका रेफ्रीमाथि मैदानमै हातपात
काठमाडौं । जेठ २६, शहीद स्मारक ए डिभिजन लिग फुटबलमा खेल सञ्चालन गरिरहेका रेफ्रीमाथि खुमलटार फुटबल क्लबका पदाधिकारीले मैदानमै हातपात गरेको जानकारी प्राप्त भएको छ ।
एन्फा कम्लेक्स सातदोबाटोमा चर्च ब्वाइज युनाइटेडसँगको खेलको पहिलो हाफको इन्जुरी समयमा खुमलटारका पदाधिकारीले रेफ्रीमाथि हातपात गरेका हुन् ।
डी बक्सभित्र चर्च ब्वाइजका कप्तान अनन्त तामाङले ह्याण्ड गरेको भन्दै खुमलटारका खेलाडी र अफिसियलले पेनाल्टीको माग गरेका थिए ।
तर रेफ्रीले ह्याण्ड नदिएपछि प्लेयर बक्समा रहेका म्यानेजर अन्जन राना क्षेत्रीले खेल सञ्चालन गरिरहेका रेफ्री प्रज्वल क्षेत्रीलाई हातपात गरेका हुन् । म्यानेजर सहित पछि अन्य अफिसियल पनि मैदान प्रवेश गरेर रेफ्रीहरुमाथि हातपातमा उत्रिएका थिए ।
हातपातमा उत्रिएका खुमलटारका म्यानेजरसहति तीन अफिसियलले रातो कार्ड पाएका छन् । ए डिभिजनमा टिकिरहन खुमलटारलाई यो खेल जित्नै पर्ने दबाव छ भने चर्च ब्वाइजले लिगको उपाधि जितिसकेको छ ।
रेफ्रीमाथि हातपात हुँदा खेलमा चर्च ब्वाइज १-० ले अघि थियो । चर्च ब्वाइजलाई अग्रता दिलाउनका लागि १३औं मिनेटमा मनोज राईले गोल गरेका थिए ।