Category: Uncategorized

  • सरकार ग्यास वितरण गर्न नसकेर लाचार सावित भएको एमालेको आरोप

    सरकार ग्यास वितरण गर्न नसकेर लाचार सावित भएको एमालेको आरोप

    काठमाडौँ । भदौ ३०, प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकार ग्यास वितरणसमेत गर्न नसकेर लाचार सावित भएको आरोप लगाएको छ ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै एमाले सांसद पद्मा अर्यालले यस्तो आरोप लगाएकी हुन् । ‘एक सुत्केरीका श्रीमान्ले ग्यास नपाएर खोलामा हाम फालेको घटना ताजै छ । यो सरकार ग्यास वितरणसमेत गर्न नसकेर लाचार सावित भएको छ,’ उनले भनिन्, ‘यो कृत्रिम अभावले ज्यालामा रोजगारी गर्ने ६५ प्रतिशतभन्दा बढी जनतालाई आक्रान्त बनाएको छ ।’

    साथै, जनता महँगो मूल्यमा ग्यास किन्न बाध्य भएकोप्रति उनले आपत्ति जनाइन् । ‘अहिले भइरहेको ग्यासको अभाव सरकारलाई सामान्य लाग्न सक्छ ।

    तर गरिखाने वर्ग, मजदुर, विद्यार्थी, अपांग भएका व्यक्ति तथा समग्र निम्न वर्गका लागि खाना पकाउने ग्यासको अभावका कारण आक्रान्त छ,’ सांसद अर्यालले भनिन्, ‘एउटा मात्रै ग्यास सिलिन्डर हुने र त्यही दिन ग्यास साटेर ल्याउने परिवारको संख्या कति छ ? त्यसको तथ्यांक सरकारसँग छ ?’

    उनले थप व्याख्या गर्दै भनिन्, ‘महँगो मूल्यमा ग्यास किन्न बाध्य जनता छन् । निम्न वर्गका लागि विद्युतीय चुल्होको सुविधा छैन । काम छाडेर ग्यास खोज्न जाने कि काम गर्न जाने ?’

     

  • चितवनमा जलेको विद्युतीय कारमा चालकको शव फेला

    चितवनमा जलेको विद्युतीय कारमा चालकको शव फेला

    काठमाडौँ । भदौ २६, भरतपुर महानगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गस्थित सर्भिस लेनमा आगलागीमा परेको विद्युतीय कारमा चालकको शव भेटिएको प्रहरीले जनाएको छ।

    शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलकाअनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको ईभीमा आगो लागेको देखेपछि दमकलको सहायतामा आगो निभाइएको थियो।

    आगो निभएपछि भित्र हेर्दा चालकको सिटमा एक शव फेला परेको हो। आगलागीबाट कार पनि पूर्ण रूपमा जलेको छ।

    कारमा कसरी आगलागी भयो खुलेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

  • चीनद्वारा नेपाललाई दुई वटा बेली पुलका सामग्री हस्तान्तरण

    चीनद्वारा नेपाललाई दुई वटा बेली पुलका सामग्री हस्तान्तरण

    काठमाडौँ । भदौ १९, चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्र सरकारले बाढी प्रभावित क्षेत्रमा जडान गर्न नेपाललाई दुई वटा बेली पुलका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

    नेपालको महावाणिज्य दूतावासले हालैको बाढीबाट प्रभावित क्षेत्रमा जडान गर्न ३० वटा बेली पुल उपलब्ध गराउन सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयसँग अनुरोध गरेको थियो।

    सोही अनुरोधअनुसार चीनले पहिलो चरणमा १०० मिटर लम्बाइका दुई वटा बेली पुल निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो।

    ल्हासास्थित नेपालको महावाणिज्य दूतावासमा आयोजित हस्तान्तरण तथा ग्रहण समारोहमा ल्हासाका लागि नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौला र सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयका उप(महानिर्देशक ओउयाङ झिबिङले ४ अप्रिल २०२६ मा हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गरी एक–आपसमा आदानप्रदान गरेका थिए।

    समारोहमा ल्हासास्थित नेपाली महावाणिज्य दूतावास तथा सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयका अधिकारीहरूको उपस्थिति थियो।

    पुलका सामग्रीहरू माथिल्लो मुस्ताङको कोरोला (लिजी) सीमा बिन्दुमा आइपुगेका छन्। नेपाली पक्षले ती सामग्री बुझेर बाढी प्रभावित क्षेत्रमा पुल जडानको प्रक्रिया अघि बढाउनेछ।

    पुलको प्रभावकारी र सहज जडानका लागि चिनियाँ पक्षले आवश्यक प्राविधिक जनशक्ति समेत उपलब्ध गराएको छ। चिनियाँ प्राविधिकहरू छिट्टै नेपाल आउने बताइएको छ।

    चीनले उपलब्ध गराएका सामग्रीमा बेली प्यानल, स्टिफनिङ कर्ड, स्वे ब्रेस, ब्रेस बोल्ट, बेली पिन, डेकिङ प्यानल, स्टिल प्लेट, बीम, च्यानल स्टिल तथा पाइप वेल्डिङ लगायतका सामग्री रहेका छन्।

     

  • बाढी प्रभावितलाई २ करोड सहयोग गर्ने कर्णाली सरकारको निर्णय

    बाढी प्रभावितलाई २ करोड सहयोग गर्ने कर्णाली सरकारको निर्णय

    काठमाडौँ । भदौ १६, कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका लागि २ करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

    आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रूपैयाँ जम्मा गर्ने निर्णय गरेको हो। उक्त रकम बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्स्थापना र पुनर्निमार्माणका लागि रहेको बताइएको छ ।

    त्यस्तै, बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको ‘शिक्षा क्षेत्र योजना २०८३-२०९२’ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।

    प्रदेश सरकारले आगामी १० वर्षका लागि शिक्षा क्षेत्रको विकास र सुधारलाई लक्षित गरी यो योजना तयार पारेको हो ।

  • प्रधानमन्त्रीको भ्रमणका सूचना लुकाउने प्रयास गर्दै सचिवालय

    प्रधानमन्त्रीको भ्रमणका सूचना लुकाउने प्रयास गर्दै सचिवालय

    काठमाडौँ । भदौ ५, प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले प्रधानमन्त्रीले काठमाडौंबाहिर भ्रमण गरेका विषयहरू हरसम्भव लुकाउने प्रयास गर्दैआएको छ ।

    प्रधानमन्त्री शाह काठमाडौंबाहिर जाँदा पुग्ने स्थानहरू, भेट्ने व्यक्तिहरू लगायतमा सचिवालयले औपचारिक धारणा बाहिर ल्याएको हुँदैन ।

    प्रधानमन्त्री शाह पोखरा भएर मुस्ताङ जाने सूचना आइसकेपछि पनि पोखराको बसाइँबारे सचिवालयले केही जानकारी गराएन । प्रधानमन्त्री शाह स्थलमार्ग हुँदै शुक्रबार बिहान पोखराका लागि हिँडे । उनीसँग रहेका अन्य व्यक्तिहरूको जानकारी गराइएको छैन ।

    प्रधानमन्त्री स्थलमार्गबाट पोखरा जान लागेको विषयको पुष्टिको लागि उनको सचिवालयका एक सदस्यलाई फोन गर्दा सुरक्षा कारणले भन्न नमिल्ने बताए । उनले अनलाइनखबरसँग भने, ‘स्थलमार्ग वा हवाई मार्गबाट पोखरा जानुभएको हो भन्ने विषय सुरक्षा कारणले भन्न मिल्दैन ।’

    सुरक्षाको कारण भन्न नमिल्ने उनले बताउँदा–बताउँदै प्रधानमन्त्री शाहसहित सुरक्षाकर्मीका गाडीको लस्करको भिडियो धादिङमा देखियो ।

    प्रधानमन्त्री पोखरा र मुस्ताङ जाने विषय त्यहाँका जिल्लाका प्रशासन प्रमुखलाई समेत थाहा दिइएको छैन । मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले प्रधानमन्त्री आउने कुरा मिडियामार्फत जानकारी पाएको बताइन् ।

    ‘हिजोदेखि नै यो खबर आइरहेको छ कि प्रधानमन्त्री मुस्ताङ भ्रमणमा आउँदै हुनुहुन्छ,’ मुस्ताङकी सीडीओ शर्माले भनिन्, ‘तर, औपचारिक जानकारी, कार्यक्रम तालिका हामीकहाँ आइपुगेको छैन ।’

    प्रधानमन्त्री पोखरामा बस्ने स्थान तय भइसक्दा समेत कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले औपचारिक जानकारी पाएका छैनन् । कास्की प्रजिअ गुरुङले पनि मिडियाबाट नै थाहा पाएको जानकारी गराए ।

    ‘हामीले पनि मिडियाबाटै थाहा पाइरहेका छौं । औपचारिक जानकारी आएको छैन, प्रधानमन्त्री नै आउने भएपछि पक्कै जानकारी आउला,’ गुरुङले भने, ‘स्थलमार्ग भएर आउने भन्ने थाहा पाइयो । अरू जानकारी पनि आउला भन्ने विश्वास छ ।’

    प्रधानमन्त्री बालेन बस्नका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाको धिताल अस्तामस्थित अन्नपूर्ण इको भिलेज बुक गरिएको छ । स्रोतका अनुसार अन्नपूर्ण इको भिलेजका सबै कोठा बुक गरिएको छ । तर सुरक्षा संयन्त्रले भने अहिलेसम्म पनि बेखबर भएको बताइरहेका छन ।

    रास्वपाको प्रथम महाधिवेशनको बेला चितवनमा प्रधानमन्त्री बस्ने स्थानको बारेमा समेत प्रधानमन्त्रीको सचिवालयले जानकारी बाहिर ल्याएन । चितवनमा तीन दिन बस्दा प्रधानमन्त्री शाह कालिका नगरपालिका–९ शक्तिखोरस्थित लटौली सेञ्चुरी रिसोर्टमा बसेका थिए । रिसोर्टका १६ वटा कोठा बुक गरिएको थियो ।

    यसअघिका प्रधानमन्त्रीहरुको भ्रमणबारे प्रेस र आम जानकारीका लागि बाहिर सूचना दिने चलन थियो । तर, आम सूचनामा रहनुपर्ने प्रकृतिका भ्रमण र तिनको औचित्यबारे हाल प्रधानमन्त्री कार्यालय तथा सचिवालयले सूचना लुकाउन थालेका हुन् ।

  • गरिमा हत्या विरोधमा आक्रोशित स्थानीयबासीले गरे प्रदर्शन

    गरिमा हत्या विरोधमा आक्रोशित स्थानीयबासीले गरे प्रदर्शन

    काठमाडौँ । भदौ ४, तीन बर्षिया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा आक्रोशित स्थानीयबासीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्रका ग्रामीण सडक समेत बन्द गराएका छन् ।

    जीतपुरसिमरा उपमहानगरपालिका भित्रका नीजि तथा सामुदायिक विद्यालयहरूले बिहीबार शोक सभा गरेर विद्यालय बन्द गरेका छन् ।

    तीन बर्षिया बालिकामाथि भएको क्रुर घटनाबाट सम्पूर्ण शैक्षिक क्षेत्र स्तब्ध भएको भन्दै निजी तथा सामुदायिक विद्यालयहरूले विज्ञप्ति प्रकाशन गरेर घटनाका दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।

    प्रहरीले समयमै ध्यान नदिएकाले बालिकाको हत्या भएको भन्दै बुधबारदेखिको आन्दोलनलाई आज पनि जारी राखेका छन् ।

    आन्दोलित स्थानीयले बिहीबार बिहानैदेखि उपमहानगरपालिका भित्रका ग्रामीण सडकहरूमा समेत टायर बालेर प्रदर्शन गरिरहेका छन् । यसअघि बुधबार दिउँसोबाट बन्द रहेको वीरगञ्ज–पथलैया सडक खण्डमा यातायात चल्न सकेको छैन ।

    गरिमाको खोजीमा इलाका प्रहरी कार्यालयले गम्भीर लापरबाही गरेको स्थानीयको आरोप छ । गरिमा हराएको बारेमा उनको बुबाले समयमै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएको भए पनि खोजीमा गम्भीरता नदेखाएको उनीहरूको आरोप छ ।

    स्थानीयले इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज डीएसपी दिलिप क्षेत्रीलाई कारबाही गर्नुपर्ने माग राखेर अहिले प्रदर्शन गरिरहेका छन् ।

    इलाका प्रहरी कार्यालय सिमरा घेराउ गर्दै उनीहरूले डीएसपी क्षेत्रीलाई कारबाही गर्नुपर्ने माग अघि सारेका हुन् ।

    आन्दोलनरत पक्षले टायर बालेर जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा–डुमरवाना खण्ड, पिलुवा–वडहर्वा खण्ड, सिमरा–जीतपुर तथा पथलैया–सिमरा खण्डमा पूर्ण रूपमा यातायात ठप्प छ ।

    बारा जिल्ला प्रशासनले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने विषयमा आफूहरु सकारात्मक रहेको र छलफलको प्रयास भइरहेको जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले आजै दिउँसो आन्दोलनरत पक्षको माग समेट्ने गरी निर्णायक वार्ता गर्ने तयारी भइरहेको बताए ।