स्वार्थरहित मातृत्वः
भनिन्छ नि सम्यम, अनुशासन र सुशासन भएन भने समाज र देशको त कुरै छाडौै, हामी स्वयं व्यक्तिको जिवनचक्रनै असफलातर्फ धकेलिदै जान्छ π सायद त्यो मानिसलाई यसको राम्रो हेक्का हुन सक्छ, जो मानिस प्रत्येक समयलाई क्रय गरिएको समयको रुपमा लिइरहेको हुन्छ वा लिन सक्छ । तर वास्तविकता त्यस्तो कहिं कतै पनि पाईदैन । तपाई हाम्रो जिवनमा नत यो कुरा व्यक्तिगत रुपमा कार्यन्वयन गर्न सकेका छौ, नत घर, समाज अनि राष्ट्रको लागी नै, यो त केवल सुन्दा भाषण गरिएको होकि जस्तो मात्रै भान हुन्छ ।
हामी नितान्त व्यक्तिगत स्वार्थमा लुप्त भई दिनचर्या चलाईरहेका छौ । यसको तपाइ हामी कसैलाई हेक्का भएको देखिदैन । आखिर २१ औं शताव्दीका प्रखर र बौद्धिक अनि गन्यमान्यको वर्गमा राखिएको पाउछौं हामीले आफुले आफूलाई । हामी आफूले आफूलाईनै सर्वविज्ञ अनि महान विचार वोकेको जस्तै मान्छौ र सस्तो लोकप्रियताका लागी गगन चुम्ने खालका बहस गरिरहेका हुन्छौ । आखिर यो खोक्रो हुर्मत किन गर्छ मान्छे ? आफ्नो जिम्मेवारी के हो, आफ्नो कर्तव्य के हो ? र अनुशासन र सुशासन के हो ? यो वारेमा स्वयंले आफैलाई सोधियो भने जवाफ स्वंय आफैभित्र पाउन सकिन्छ । नत्र आफैसंग भएको सुगन्धित बास्ना थाहा नपाएर जंगलको चारैतिर भौतारिरहेको मृगको हालत जस्तै नहोला भन्न सकिन्न ।
आफ्नो कर्म र आत्मालाई त कसरी ढाट्न र छल्न सकिन्छ र ? त्यो त चाहेर पनि सकिदैन । खैर यि त रहे मानवका बास्तविक विचार र व्यवहार । यहां प्रसंग उठाउन खोजिएको भने यिनै मानविय विचार संयम, अनुशासन र नितान्त व्यवाहारसंग निहित छ । प्रसंग हो आमाको मुख हेर्ने दिनको । सवैलाई आमाको मुख हेर्ने दिन होस या अरु कुनै यस्तै महत्वपूर्ण दिन । आफूले घर अनि समाजमा के व्यवहार गरिराखेको छु भनेर भन्नु भन्दा पनि सामाजिक सञ्जालमा पोष्ट गरि देखावटी तवरले खरिद गरेको माया जस्तो पनि के माया र स्नेह होला र त्यहां ? प्रचारमा लागेजस्तो तपाई हाम्रो घरमा हुनुभएका आमा वुवाको सेवार्थ थोरै मात्र माया, स्नेह र सरल व्यवहार मात्रै गरिदिने हो भनेपनि त्यो आफ्नो त्यो नै ठूलो सम्पत्ति हुनेछ आमा वुवाको लागि ।
पृथ्वी गोलो छ, घुमिनै रहन्छ, आज जवान छौत के भो, भोलि तिमी पनि बृद्धावस्थामा अवष्य पुग्नेछौं । यसर्थ, सकिन्छ आमावुवा हुनेहरुले आज एक दिन मात्र आमाको मुख हेरर देखावटी गर्नुभन्दा माया र स्नेह देउ यहिनै पूण्यको काम हुनेछ ।
प्रसंग यतिमात्र होईन, आफ्नो जिवनकालभरि त्यहि सन्तानका निमित्त हर दुखः र कष्टलाई पैतालामुनि राखेर सन्तानको सुन्दर भविष्यका निमित्त जिवनको पूरै समय खर्चिएकी आमालाई जव बृद्धावस्था हुन्छ, अनि अनेक रोगले पनि आक्रमण गर्न थाल्छ, तव त्यसवखत तिमी त्यहि आमा जसले तिमीलाई आफ्नो कोख चर्काएर यस धर्तिमा ल्याईन् उहि आमाप्रति तिमी विमुख भईदिन्छौं धन्य तिम्रो जन्म । यस्तो जन्म त कदापी सार्थक हुनै सक्दैन । रोग त लागिनै सक्यो, अव उपचार गर्नु भन्दा घरमा आराम गर्नु वेश, यो समयमा आराम वेश कि, उपचारार्थ लाग्नु वेश होला ? त्यो त सामान्य ज्ञान भएका सन्तानले पनि आफ्नो कर्मवाट विमुख हुदैनन्, झन तिमी त त्यहि आमाले उज्वल नक्षत्र दिएको सन्तान ।
जसरी आमाले आफ्नो सन्तानका निमित्त आफ्नो जिवनको एउटा अभिन्न अंग सम्झिएर हुकाई, वढाइ, पढाई ठूलो मान्छे बनाउने उनको चाहत हुन्छ, तिमीले त्यतिनै गर्न नसकेपनि बुढेसकालको साहारा मात्रै बनिदिएत उनको कोख चर्काइको भारा कम पर्न जान्थ्यो कि ?
हो तपाई हाम्रो समाज वरिपरी यि र यस्तै पिडा छन् आमाहरुका । वाहिर आउदैनन् यि कुराहरु, किनकी ति आमालाई आफ्नो सन्तानको समाजमा प्रतिष्ठा नघटोस यहि चाहन्छिन् आमा । अनि जुनकुनै बृद्धाश्रममा जांउ हामी त्यहांको आमाहरुको पिडा आखांभरि ढलपलाईराखेको हुन्छ आजको दिन । त्यहि सन्तानले दिएको चोट र पिडाले उनलाई झन आज अझै वढि सताउने गरेको छ । कसैको छोरा वुहारीले हेला गरेर बृद्धाश्रमका ढोका सम्म लगेर छाडिदिएका व्यथा छन्, कसैका कुनै पिडा कसैका कुनै, तर हेर्दा एउटै अमानविय व्यवहार छ, अधिकांश ति आमाहरुको सन्तानले दिएका चोट र पिडा । वस उनको अझपनि एउटै चाहत छ मेरो सन्तानलाई हिड्दा ठेस नलागोस । धन्य आमा तिमी कति महान π
यो संसारमा हर चिज पाईन्छ तर आमा कहि कतै पाईदैन । यसर्थ, सकिन्छ न्यानो छहारी दिउ, सकिदैन कम्तिमा अमानविय व्यवहार गरेर, हेला गरेर आमालाई नरुवाऊ । पृथ्वी गोलो छ तिम्रा दिन पनि पुनः त्यहि नआउलान् भन्न सकिन्न ।
निष्वार्थ भावले आमाको सेवार्थ लाग्ने सम्पूर्ण मनहरुमा नमन र जसले आमालाई आमाको व्यवहार गर्दैनन् उसलाई त भन्ने अपशव्द नै शव्दकोषमा भेटिदैन । यसर्थ, सकिन्छ भने स्वार्थरहित मातृत्व जसले आफ्नो कोख चर्काएर आफ्नो ममताले छोपेर हर अप्ठ्याराहरुसंग पौठेजोरी खेल्दै आफ्ना सन्तानलाई गरेको माया र ममताको श्रद्धाभाव भएपनि राख्ने कोशिस गर्दा जिवन सार्थक होलाकि ?