यो हप्ता भित्रै मन्त्रिपरिषद् बिस्तार

सहयात्रा टिभी

काठमाडौं । तीन उपप्रधानमन्त्री र चार मन्त्री सहित बिहीबार पद सम्हाल्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै पार्टी भित्रका गुटलाई सन्तुष्ट पार्दै मन्त्रिपरिषद् विस्तार गर्न मुस्किल भएको छ । सत्तागठबन्धनमा रहेका दलहरु बीच मन्त्रालयको टुङगो लाग्न नसक्दा उहाँलाइ आफनो पार्टी भित्रको व्यवस्थापनमा झन समस्या भएको छ । रामचन्द्र पौडेल खेमाका नेतालाई सन्तुष्ट पार्न नसकेका कारण प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न गाह्रो परेको हो । जति सकस भएपनि विभिन्न गुटको भागबन्डा केहि दिनमै सल्टाउने र दोस्रो चरणको निर्वाचन भन्दा पहिले नै मन्त्रिपरिषद् विस्तार हुने काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनु भएकोे छ । सत्ता साझेदार माओवादी केन्द्रलाई पनि मन्त्रीको टुङ्गो लगाउन यस्तै सकस परेको छ । प्रधानमन्त्री निर्वाचनका बेला प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा मतदान गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत साना दलहरुलाई पनि सरकारमा सहभागी बनाउने प्रयास भइरहेको छ ।
आफूले खोजेको मन्त्रालय माग्ने प्रवृत्तिले पनि मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको बुझिएको छ । देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेका सबै पार्टीलाई समावेश गर्ने योजना भएकोले अब विस्तार हुने मन्त्रिमण्डल ठूलै आकारको हुने अनुमान गरिएको छ । कांग्रेस श्रोतका अनुसार काँग्रेसको भागमा १० देखि ११ मन्त्रालय रहन्छ र माओवादी केन्द्रको भागमा ८ देखि ९ वटा मन्त्रालय हुनेछन । अन्य दललाई पनि सम्मानित ढङ्गबाट सिट उपलब्ध गराइने छ ।
मन्त्रिपरिषदमा संविधानमा उल्लेख भए अनुसार महिला र दलित समुदायको प्रतिनिधित्व नभएको आलोचना भइरहेका बेला अब हुने विस्तारलाई समावेशी बनाइने काँग्रेस नेताहरुले बताउनु भएको छ ।

प्रकाशित : 9 June, 2017

प्रतिक्रिया दिनुहोस्