कोशी ब्यारेजमा पानीको बहाब बढेसँगै रेड अलर्ट

सहयात्रा टिभी

काठमाडौँ । असोज ९ कोशी ब्यारेजमा पानीको बहाब बढेसँगै ३१ वटा ढोका खोलिएको छ ।

अहिले ब्यारेज ‘रेड अलर्ट’ को अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार, अहिले कोशी ब्यारेजमा २ लाख ४० हजार क्युसेक बाढी मापन भएको छ ।

यद्यपि अघिल्लो वर्ष कोशीमा ५ लाख क्युसेक माथि बाढी मापन भएको थियो । ‘कोशी ब्यारेजमा अहिले रेड अलर्टको अवस्था छ । यद्यपि अघिल्ला वर्षहरूमा ५ लाख क्युसेकसम्म बाढी मापन भएको थियो,’ सीडीओ अर्यालले भने, ‘आत्तिनुपर्ने अवस्था चाहिँ छैन । तर, हामी अलर्टमा छौं ।’ उनका अनुसार, कोशी पुल भएर चल्ने सवारी साधन भने रोकिएको छैन ।

‘अहिले नै सवारी साधन रोक्नुपर्ने अवस्था छैन । बाढीको मापन बढ्यो भने आवश्यकताअनुसार निर्णय भने हुन्छ,’ सीडीओ अर्यालले भने ।

मौसम विज्ञान विभागले सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा पर्सिसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

प्रकाशित : 25 September, 2026

प्रतिक्रिया दिनुहोस्