चिकित्सकीय जाँचमा किन हेरिन्छ जिब्रो
डा. ललित मिश्र
जब तपाईं आफ्नो या आफन्तको रोगको उपचार गर्न कुनै चिकित्सक कहाँ पुग्नु हुन्छ । सम्बन्धित डाक्टरले तपाईंको कुरालाई सुन्दै नोट गर्दछ, त्यसपछि शारीरिक परीक्षणको क्रममा मुख आँ गर्न लगाएर जिब्रो बाहिर निकाल्नुस् भन्छ । र, मुखभित्र टर्च बालेर जिब्रोलाई मज्जासँग नियालेर हेर्दछ । टाउको दुखेको होस्, पेट या शरीरको कुनै अन्य भागमा नै पीडा किन नभएको होस्, चिकित्सकले जिब्रो भने अवश्य नै हेरेको अनुभव हामी तपाईंले गरेका छौं । आखिरमा चिकित्सकले जाँचको क्रममा जिब्रो किन हेरेको होला भन्ने कुराको जिज्ञासा लाग्नु स्वाभाविक नै हो ।
पाँच ज्ञानेन्द्रियमध्ये जिब्रो पनि एक हो । यसको शब्दको उच्चारणमा सहयोग गर्ने, बोल्ने र खाने कुराको स्वाद छुट्टयाउने काम हो । यत्तिमै मात्र जिब्रोको काम सीमित भने छैन । जिब्रोले विभिन्न प्रकारका स्वास्थ्य समस्याबारेमा जानकारीसमेत दिन्छ । जिब्रोको अवस्था हेरेर व्यक्तिको स्वास्थ्य समस्याको बारेमा सजिलोसित थाहा पाउन सकिन्छ । भनिन्छ, जिब्रो पेटको दर्पण हो । यसले पाचनसम्बन्धी विकारलाई दर्शाउनुको साथै पाचनतन्त्रको गडबडीले शरीरको अन्य भागमा हुने खराबीलाई पनि देखाउँछ । जस्तै अपचले गर्दा पित्त बढन गई टाउको दुख्छ साथै दृष्टिमा पनि गडबडी हुन्छ । यस प्रकार पेटको वायु विकारले मुटुको धड्कनलाई बढाउनुको साथै छातीमा दर्द पनि हुन्छ । पेटको खराबी नभइकन पनि जिब्रोले हामीलाई शरीरको अन्य सिस्टमको बारेमा पनि महत्वपूर्ण जानकारी दिन्छ । जस्तै अर्ध पक्षघातमा (जिब्रोको आधी भाग सुकेको) देखिन्छ । पहेँलो र चिल्लो जिब्रोले व्यक्तिमा रगतसम्बन्धी विकारबारे सूचित गर्दछ । यसैगरी नीलो भएको जिब्रोले (इमप्युअर अक्सिजन) मुटुसम्बन्धी रोगलाई बताउँछ । तर, यी सबै कुराहरू फिजिकल लेबलमा भए । मानिसको मन, शरीर, भावनासमेत पाचनतन्त्रबाट प्रभावित भएको हुन्छ । जस्तै– हाइपर एसीडीटी प्रायगरी व्यक्तिको तनाव (स्ट्रेस) सँग गाँसिएको हुन्छ । यस प्रकारले हेर्ने हो भने जिब्रोले पाचनतन्त्रको गडबडीलाई मात्र दर्शाउँदैन कि अपितु समष्टिगत रूपमा व्यक्ति विशेषलाई नै जनाउँछ भन्दा अत्युक्ति नहोला ।
सायद यही कारण होला कि प्राचीनकालमा वैद्य (आयुर्वेदिक फिजिसियन) हकिम (युनानी फिजिसियन) हरूले रोगीको जिब्रो, नाडी, हात र खुट्टाका नङ तथा केश आदिको परीक्षणबाट नै गम्भीर रोगहरू पत्ता सजिलोसित लगाउँदथे । त्यसबेला अहिलेको जस्तो अत्याधुनिक चेकजाँच गर्ने मेसिन तथा औजारहरू पनि थिएनन् । र पनि, टीबी मस्तिष्करोग, छारेरोग, पेटसम्बन्धी रोग, आदिहरूको सफल उपचार गरिन्थ्यो । आधुनिक चिकित्सा (एलोप्याथिक) स्कुलमा रोग निदानको उद्देश्यबाहेक बिरामीको जिब्रोलाई त्यति महत्व दिँदैनन् । जति अन्य चिकित्सा पद्धति आयुर्वेदिक, होमियोप्याथिक, युनानीमा दिइन्छ । होमियोप्याथिक दृष्टिकोण अनिवार्य रूपले यसबाट भिन्न हुन्छ । एक होमियोप्याथिक चिकित्सकलाई रोगीको जिब्रोले महत्वपूर्ण जानकारी दिन्छ । जसको सहायताले व्यक्ति विशेषको उपचारार्थ औषधिको निर्देशपत्र लेख्न सकिन्छ । जिब्रोको अवस्थाले शरीरमा विभिन्न प्रकारको रोगहरूको उपस्थितिलाई जनाउँछ । उदाहरणको लागि–यदि कसैको जिब्रो मोटो, पहेँलो तथा किनारमा दाँतका निसानहरू देखिन्छ भने व्यक्तिको शरीरमा भयंकर रगतको कमी हुन सक्छ । जिब्रोमा देखिने कालो दागले व्यक्तिमा उच्च रक्तचापको संकेत दिन्छ । यदि पेटको माथिल्लो भागमा दर्द रहन्छ भने त्यस व्यक्तिको जिब्रो चम्किलो हुन सक्छ । यदि जिब्रोमा चिनीका मसिना कणजस्ता चम्किलो थोप्लाको निशान छ भने– पेटमा जुका (वार्मस)हरू रहेको संकेत हो । यसैगरी ज्वरो, खोकी, जन्डिस, रक्तअल्पता, टाउको दुख्नु, पेट दुख्नुजस्ता समस्याहरूमा व्यक्तिको जिब्रो हेरेर पत्ता लगाउन सकिन्छ भने जिब्रोको अवस्थाले चिकित्सकहरूलाई रोगको निदान गर्नमा सहयोग पु¥र्याउँछ । जिब्रोमा हुने परिवर्तनले अनेक रोगको संकेत दिन्छ । रोगको निदानमा बिरामीले चिकित्सकसँग झुटो बोलेर रोग लुकाउन खोजे तापनि उसको जिब्रोले झुटो बोल्दैन । तर, जहाँ रोगीले उपचारार्थ एलोप्याथिक औषधिको सेवन गरिरहेको छ या कुनै प्रकारको जडीबुटी प्रयोग गरिरहेको छ भन्ने कुरा त्यस अवस्थामा जिब्रोको रंग बदलिन पनि सक्छ । रंग परिवर्तन भएको जिब्रोलाई रोग निदानको रूपमा लिन वा विश्वास गर्न सकिँदैन ।
एउटा स्वस्थ व्यक्तिको जिब्रोको रंग गुलाबी हुनुका साथै सफा, पातलो तथा स—साना टुस्सा (प्यापिली)ले भरिएको हुन्छ । आयुर्वेदिक चिकित्सानुसार–मानिसको विभिन्न अंगप्रत्यांगलाई दर्शाउने गरी जिब्रोलाई विभाजित गरिएको छ । जुन यस प्रकार छ– जिब्रोको सतहले मेरुदण्ड, दाहिने र देब्रे छेउको भागले किड्नी, सतहदेखि अलिक अगाडिको भाग (आन्द्रा, त्यसको अगाडिकोले अग्नाशय र त्यसभन्दा अगाडिको भागले पेटको अवस्थालाई जनाउँछ, बीचको छेउको भागले दाहिने फियो र देब्रे लिबरलाई संकेत गर्दछ । यस प्रकार अगाडिको दुवै साइडले दाहिने र देब्रे खुट्टालाई जनाउँछ भने यसको बीचको भागले मुटुको प्रतिविम्ब हो । आफ्नो जिब्रोलाई ऐनामा हेरेर विचार गर्न सकिन्छ ।
होमियोप्याथिक चिकित्सामा बिरामीको जिब्रोको आकारप्रकार अवस्था (जन्मजात बिरामी भएर रंंग (गुलाबी, सेतो, पहेँलो, हरियो, नीलो, कालो, निशान सुक्खा, रसिलो ¥याल चुहिने सुन्निएको, घुम्चिएर, चाउरी परेको, पक्षाघात आदि हेरिकन पनि बिरामीको लागि उपयुक्त औषधि प्रिस्क्राइब गरिने गरिन्छ । यसरी जिब्रोको अवलोकनबाट रोग निदान गरी चिकित्सकले छिटोछरितो स्वस्थ्य सेवा दिन सक्छ भने बिरामीले पनि सहज रूपमा सजिजोसित सेवा प्राप्त गर्न सक्छन् ।
ससाना बालकहरू, लाटो, बहिरो, व्यक्तिका साथै चिकित्सकले नबुझ्ने भाषामा कुरा गर्ने रोगीहरूको जिब्रो हेरिकन औषधि लेख्न मद्दत मिल्दछ । ओपीडी (वहिरंग विभाग) मा बिरामीको चाप भएको अवस्थामा स्वास्थ्य परीक्षणको क्रममा जिब्रो हेरी औषधि लेखिदिन सजिलो हुनुका साथै छोटो समयमा बढीभन्दा बढी बिरामीलाई परीक्षण गर्न मद्दत मिल्दछ । बिरामीले आफ्नो समस्या सही ढगंले बताउन् सकेन भने पनि जिब्रोको परीक्षणले प्राप्त जानकारीको आधारमा औषधि लेख्न सकिन्छ । यसप्रकार दैनिक परीक्षा र जिब्रोको अवलोकन, यसले रोगीको रोगनिदान गर्नका साथै रोगीको लागि उपयुक्त औषधिको चयनमा पनि चिकित्सकलाई सहयोग गर्दछ । जिब्रोका केही अवस्थाहरूले व्यक्तिको जिउमा रहेको वा हुन सक्ने रोगको बारेमा पनि भविष्यवाणी पनि गर्न सकिन्छ भन्ने विज्ञहरूको भनाइ छ ।
डढेको जस्तो, रातो, कालो वा सेतो रंगको जिब्रो हुनु, मुखमा कीटाणुको संक्रमण भएको लक्षणका रूपमा लिइन्छ । यसैगरी एलर्जीका कारण जिब्रो सुन्निने हुन्छ । लामो समयसम्म एन्टिबायोटिक औषधिको प्रयोग गरेको मानिस तथा एचआईभी (एडस) बाट संक्रमित भएका मानिसको मुखमा ढुस्सी (फगंसं को संक्रमण भएको हुन्छ । यस्ता व्यक्तिहरूको जिब्रो कालो तथा रंगहीन हुन्छ । जिब्रोको सतहमा लामो गहिरो धर्साहरू (चिरा) हुनु भिरंगी (सिफिलिस) जस्ता यौन रोगको संकेत हुन सक्छ । यसैगरी जिब्रोमा बराबर घाउ हुनु–पेटको जटिल रोग (क्रोनिक डिजिज) को लक्षण हो । स्वाद थाहा पाउने कोषिकाहरू कम भएको–चिल्लो जिब्रोले व्यक्तिको शरीरमा भिटामिन बी—१२ र फलाम तत्व (आइरन) को कमी भएको रक्तअल्पता (एनिमिया) को संकेत गर्दछ ।
साभार: हेल्थ टुडे नेपाल