केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल रेडक्रस दिवस सोमबार

सहयात्रा टिभी

काठमाडौँ । ‘रेडक्रस सबै ठाउँमा, सबैका लागि, के तपाईँलाई थाहा छ ?” नाराका साथ नेपाल रेडक्रस दिवस सोमबार मनाइँदैछ । वि.सं. २०२० साल भदौ १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको हो । स्थापनाको उपलक्ष्यमा मानवीय सेवार्थ खटिने स्वयंसेवकको सम्मान, प्राथमिक उपचार, रक्तसञ्चार सेवा, विपद् व्यवस्थापनलगायत रेडक्रसका गतिविधिको बारेमा अन्तरक्रिया, बाढी पहिरो प्रभावितलाई राहत वितरणलगायत विविध कार्यक्रम गरी रेडक्रस दिवस देशभर मनाउन लागिएको छ ।

नेपाल रेडक्रस सोसाइटीका ७५ वटै जिल्लामा शाखा, एक हजार ५०८ उपशाखा, पाँच हजार ४१० जुनियर सर्कल र ८६५ वटा युवा सर्कल रहेका छन् । ती सबै निकायमा ९० हजार स्वयंसेवक तथा १० लाख ६० हजारभन्दा बढी सदस्य आवद्ध रहेका नेपाल रेडक्रस सोसाइटीका सञ्चार अधिकृत दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटीले विपद् व्यवस्थापन, आकस्मिक सेवा र संकटासन्नता न्यूनीकरण गतिविधिलगायत अहिले ७२ जिल्लाका १०६ स्थानबाट रक्तसञ्चार सेवा, २१० वटा बाहनमार्फत् एम्बुलेन्स सेवा र दुईवटा अस्तालमार्फत आँखा स्याहार गतिविधि सञ्चालन भइरहेको छ । आर्थिक वर्ष २०७३र७४ मा मात्र विपद् व्यवस्थापन तथा विकासमूलक कार्यक्रमबाट ८० लाखभन्दा बढी नागरिक लाभान्वित भएका पौडेलले बताउनुभयो ।

“आन्तरिक सशस्त्र संघर्ष, प्राकृतिक विपत्ति वा शान्ति सबै परिस्थितिमा विगत ५४ वर्षदेखि नेपाल रेडक्रसले पारस्परिक सहयोग र समझदारीका आधारमा आफ्ना सेवा निरन्तर प्रदान गर्दै आएको छ,” उहाँले भन्नुभयो । अहिले मुलुकका २८ जिल्लामा लक्षित गरी बाढी तथा पहिरो प्रभावित नागरिकलाई तत्काल सहयोगका लागि एक हजार तीन सयभन्दा बढी रेडक्रसका स्वयंसेवक तथा कर्मचारी प्रभावित क्षेत्रमा खटिएका छन् ।

वि.सं. २०७२ मा गएको भूकम्पपछि रेडक्रसले नेरेसोमार्फत् एक हजार ४७५ घर निर्माण गरिसकेको छ । यस्तै ६ हजार ५८१ परिवारलाई आवास निर्माणको पहिलो किस्ता, दुई हजार हजार १२२ परिवारलाई दोस्रो किस्ता, ८७१ परिवारलाई तेस्रो किस्ता तथा २१२ परिवारलाई अन्तिम किस्ता सहयोग गरेको सञ्चार अधिकृत पौडेलले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटीले ७० वटा खानेपानी योजना, एक हजार ४२८ शौचालय, दुई हजार ३१३ शौचालय निर्माण गरिरहेको जनाएको छ । स्वास्थ्य सेवाअन्तर्गत ६ वटा स्वास्थ्य चौकी निर्माण सम्पन्न भइसकेका छन् भने २७ वटा स्वास्थ्य चौकीलाई मर्मत तथा आधारभूत उपकरण सहयोग गरिएको छ । करिब सात हजारभन्दा बढी नागरिकलाई जीविकोपार्जन सम्बन्धि तालिम प्रदान गरिएको छ १३ हजार ३५३ परिवारले जीविकोपार्जनका लागि नगद सहयोग प्राप्त गरिसकेका नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

हालैको बाढी पहिरोबाट १७ लाख मानिस प्रभावित भएकामा दुई लाख १० हजार घरमा पूर्ण तथा आंशिक रूपमा क्षति भएको छ । चार लाख ६० हजार नागरिक विस्थापित भएका छन् । नेपाल रेडक्रस सोसाइटीले रु आठ करोडभन्दा बढी मुल्य बराबरको सात हजार ७५६ परिवारलाई गैरखाद्य सामग्री, पाँच हजार ७११ परिवारलाई त्रिपाल, दुई हजार ७०० परिवारलाई सरसफाइ सामग्री, ४१ हजार ८५१ परिवारलाई आपतकालीन खाद्य सामग्री, ५०८ परिवारलाई पकाउने भाँडा, दुई हजार ५२६ परिवारलाई झुल, तीन हजार २६ परिवारलाई कम्बल तथा एक हजार ८०१ परिवारलाई ओछ्याउने म्याट्रेस उपलब्ध गराएको छ । रासस

प्रकाशित : 4 September, 2017

प्रतिक्रिया दिनुहोस्