महागुरु फाल्गुनन्दको जन्मजयन्ती भव्यताका साथ मनाइने

सहयात्रा टिभी

पाँचथर । सोह्रौँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३३ औँ जन्मजयन्ती भव्यताका साथ मनाइने भएको छ । विश्व किरात महासंघको संयोजनमा चार संस्थाहरुले संयुक्त रुपमा सो जन्मजयन्ती मनाउन लागेका हुन् ।

महागुरु फाल्गुनन्दको कर्मभूमि तथा किरात समाज सुधारका लागि उहाँले सात बुँदे सत्यधर्म मुचुल्का घोषणा गर्नुभएको स्थल लब्रेकुटिमा संयुक्त रुपमा जन्मजयन्ती मनाउन लागिएको सदरमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।

विश्व किरात महासंघको संयोजनमा सुम्जिरी सुम्हालुङ आम्बेपज संरक्षण एवम् विकास प्रतिष्ठान, महागुरु फाल्गुनन्द अध्ययन तथा संरक्षण प्रतिष्ठान, किरात धर्म संरक्षण समिति र १७ थुम गोश्वारी मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिले संयुक्त रुपमा कार्यक्रम गर्न लागेका हुन् ।

लब्रेकुटिमा आगामी कात्तिक २५ गते महागुरुको विशेष जन्मजयन्ती मनाउन लागिएको हो । फाल्गुनन्द जन्मजयन्तीलाई किरात समुदायलगायत अन्य समुदायको समेत साझा पर्वको रुपमा विकास गर्ने उद्देश्यले संयुक्त रुपमा कार्यक्रम गर्न लागिएको १७ थुम गोश्वारी मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिका महासचिव नवीनचन्द्र तुम्बापोले बताउनुभयो ।

महागुरु फाल्गुनन्दले विभिन्न किसिमको कुरीति र कुसंस्कारमा रुमलिएको किरात समुदायलाई ७ बुँदे सत्यधर्म मुचुल्कामार्फत सभ्यताको बाटोतर्फ डोर्‍याउने काम गर्नुभएको थियो ।

उहाँले लब्रेकुटिमा तत्कालीन १० लिम्बुवान १७ थुमका प्रतिष्ठित व्यक्तित्वको भेला गराई छोरीचेलीको विवाहमा सोतरीत, सुनौली रुपौली लिन नहुने, नारी जाति सृष्टिकर्ता भएकाले उसको उच्च सम्मान गर्नुपर्ने, जीव हत्या हिंशा गर्नु नहुने लगायतका नीति सत्यधर्म मुचुल्काबाट अबलम्बन गर्नुभएको थियो ।

पहिलोपल्ट संयुक्त रुपमा यसरी आयोजना गर्न लागिएको जन्मजयन्ती कार्यक्रममा विभिन्न जिल्लाका महागुरुका अनुयायीहरुको सहभागिता रहने आयोजक संस्था किरात धर्म संरक्षण समितिका अध्यक्ष क्याप्टेन सुरेन्द्रप्रकाश जवेगुले बताउनुभयो । रासस

प्रकाशित : 29 October, 2017

प्रतिक्रिया दिनुहोस्