गोठसम्म पुग्यो चुनाव, चुनावका कारण अलि चाँडै खर्क सार्दै चौंरीपालक
इलाम । इलाम माइमझुवा–८ धुपीडाँडाका गौतम गुरुङ्गले एक विहान हिंड्दा पुगिने आफ्नै घरका आफन्तको मुख नदेखेको झण्डै चार महिना पुग्यो । यो वर्षको गर्मी शुरु भएपछि लेकाली खर्कमा चौरी र च्याङग्रा गोठ सारेदेखि गाउँ नझरेका गुरुङ्गलाई चौरी गोठ स्याहार्ने र उत्पादित घ्यू–छुर्पी बजार लैजाने प्रवन्ध मिलाउनमै दिन बित्छ ।
गएको फागुन महिनादेखि उत्पादन भएको घ्यू–छुर्पी भारतको दार्जिलिङ्ग लगेर बेच्ने चाँजोपाँजो मिलाउँदै गुरुङ्ग अहिले । गोठमा उत्पादन भएको चौरीको घ्यू, छुर्पीको भारी कस्न व्यस्त गौतम अब हप्ता दिनभित्रमा खर्कको उत्पादन बेचिसक्ने सोंचमा छन् । घर झर्नका लागि उनलाई अर्को मेसो बनेको छ नजिकिंदै गरेको प्रतिनिधि तथा प्रदेशसभा चुनाव पनि । तीन हजार ६३६ मिटर उचाइको सन्तपुर छेउमा ६० वटा दुहुना चौरी स्याहार्दै बस्ने गुरुङ्ग फागुन दोस्रो साता नै लेकाली खर्क चढेको सुनाउँछन् । कञ्चनजंघा, कुम्भकर्ण हिमालमा हिउँ खस्न छोडेसँगै लेकाली खर्कमा चौरी चढाउने गरेको बताए । माइमझुवा–९ का लालबहादुर राई पनि अहिले चौरीको उत्पादनलाई बोरामा हालेर भारी मिलाउँदैछन् । माऊ र बाच्छाबाच्छी गरी ४० वटा चौरी पालिरहेका लालबहादुर खर्कको गोठमा बनाएको घ्यू–छुर्पी त्यहि चौरीलाई बोकाएर दार्जिलिङ्ग लगेर बेच्ने गरेको सुनाउँछन् । उनले भने–‘घ्यू–छुर्पी बेचेर आएको पैसा केहि घरमा छोडिन्छ । केहिले चौरी र आफ्ना लागि आवश्यक सरसामान किनेर ल्याइन्छ ।’ गौतम र लालबहादुर मात्र होइन सन्तपुर, छिन्टापु, आहालपोखरी आसपास झण्डै सयको हाराहारीमा रहेका लेकाली गोठको दैनिकी अहिले यस्तै छ । खर्कमा काम बढेका बेला घरबाट छोराछोरीलाई बोलाउने र काममा केहि सघाऊ–पघाऊ हुने लालबहादुर बताउँछन् । उनले भने–‘कहिलेकाँही छोराछोरीले चौंरी–च्याङग्रा स्याहार्छन्, म चाँहि छुर्पी–घ्यू बेच्न भारत जान्छु ।’
पाँचथर लुङ्गरुप्पा–२ घर भई छिन्टापुमा चौरी गोठ स्याहार्ने ६० वर्षीया चन्द्रकला गुरुङ्ग पनि अब लेकाली खर्कलाई चिसोले खाएको बताउँछिन् । विहान–बेलुका तुषारो झरेर खर्कमा चौरी चर्ने ठाउँमा घाँसपात छोपिन थालेको बताउँदै चन्द्रकलाले भनिन्–‘अब फागुन लागेर दिन तातिन थालेपछि मात्र फेरि उकालो चढिन्छ ।’ घाँटीमा ठूला–ठूला घण्टी झुण्ड्याइएका चौंरी र च्याङग्रा लर्को लागेर गाउँबस्ती नजिकको खर्कमा झर्दा गाउँको रौनक नै अर्कै हुने माइमझुवाका उदय गुरुङ्ग बताउँछन् । प्रायः सबै चौरीपालकले सल्लाह नै गरेर तल्लो खर्कमा चौरी–च्याङग्रा सार्ने गरेको बताउँदै उदय भन्छन्–‘एक–डेढ किलोमिटरसम्म घण्टी बजाउँदै लर्को लाग्ने चौरीको लाम हेरिरहुँ लाग्ने हुन्छ ।’ ६ महिनासम्म लेकाली खर्कमा छुर्पी–घ्यू बनाउने र गाउँझरेपछि बेच्ने गरेको सुनाउँदै चन्द्रकलाले भनिन्–‘गाउँ झरेपछि परिवारले पनि चौंरी स्याहार्न सहयोग गर्छन् । मान्छेको मुख पनि देख्न पाइन्छ ।’
सन्तपुर र छिन्टापु आसपासमा गोठ रुँघेर बस्ने अधिकांशको गाउँघरका आफन्तसँगको भेटघाट तल्लो खर्कमा चौरी–च्याङग्रा सारेपछि मात्र हुने गरेको छ । एकलासे जङ्गलमा एउटा भोटेकुकुरको साथमा गोठ स्याहार्ने चौरीपालक किसान एकाध बाहेक कोही बेला त महिनौं दिनसम्म पनि मान्छेको मुख नदेखिने बताउँछन् । लेकाली खर्कमा रेडियोबाट बेलाबखत गाउँघरको समाचार सुन्न पाइने गरेको सुनाउँदै अमृत राई भन्छन्–‘अब तल्लो खर्क झरेपछि मात्र मान्छेसँग भेटघाट र व्यापार हुन्छ ।’ लेकाली खर्कबाट एक जना किसानले सरदर एक हजार किलो छुर्पी र त्यति नै परिमाणमा घ्यू चौरीलाई बोकाएर तल्लो खर्क झर्ने गरेका छन् । तल्लो खर्कमा झारेको घ्यू–छुर्पी किसानहरुले स्थानीय बजार, काठमाण्डौं, पोखरा, धरान, विराटनगरलगायत भारतको दार्जिलिङ्ग, मिरिकसम्म पु¥याएर बेच्ने गरेका छन् । चौरीको घ्यू–छुर्पी स्वादिलो र पौष्टिक समेत हुने भएकाले उपभोक्ताको जिब्रोमै झुण्डिने गरेको । र् न जङ्गलमा पालिने चौरीले किसानको जीवन मात्र चलेका छैनन्, शहर बजारका विभिन्न कोसेली घरहरु समेत भिडमभाड चलेका छन् । मेची राजमार्गले छोएका इलामको फिक्कल, आइतबारे, इलाम सदरमुकाम, नेपालटार, राँकेलगायतका बजार क्षेत्रका अधिकांश पसलमा चौरीको घ्यू–छुर्पी पाइने गरेको छ ।
मेची राजमार्गमा यात्रा गर्ने अधिकांशले घर लैजाने कोसेलीका रुपमा चौरीको छुर्पी रोज्ने गरेका छन् । चौरीको घ्यू प्रतिकिलो आठ सय ५० र छुर्पी प्रतिकिलो नौं सयसम्ममा तल्लो खर्कको गोठबाटै बिक्ने गरेको अमृत राई बताउँन्छ । उनले भने–‘चौरी पालेर महिनामा सरदर ६० हजार रुपैंयाँसम्म कमाइ गर्न सकिने बताउँदै गौतम गुरुङ्गले भने–‘कमाइ त राम्रै हुन्छ । तर, अब चौरी पाल्न नसकिने भयो ।’ लेक–बेसी दुबैको खर्क आसपासका वन सरकारले समुदायलाई संरक्षण गर्न दिएपछि चौरी–च्याङग्रालाई चरन अभाव हुन थालेको चौरी पालक बताउँछन् । १० वर्षको उमेरदेखि नै ढुक्कै चौरी गोठ बस्दै आएकी चन्द्रकला गुरुङ्ग भन्छिन्–‘पहिला खर्कमा निर्वाध चौरी चराउन पाइन्थ्यो, अहिले सरकारले खर्क आसपासका वन समूहलाई जिम्मा लगाएपछि छिरिक्क पस्न दिंदैनन् । चरन क्षेत्र घटेपछि सबैका गोठमा चौंरीको संख्या पातलिंदै गएको छ ।’
८० हजारदेखि दुई लाखसम्मका चौरी पाल्ने यहाँका किसानको गोठमा कम हुनेको पनि २५ वटासम्म चौरी हुने गरेको छ । चरन क्षेत्र घट्दै जानु र युवापुस्ताले गोठमा दुःख गर्न मन नगर्ने गरेका कारण गोठमा चौरी–च्याङग्रा घटाउनु पर्ने वाध्यता बन्दै गएको चौरीपालक लालबहादुर राई बताउँछन् । उनले भने–‘हामीले पो सानामा पढ्न पाएनौं र बाबु–आमाको पछि लाग्दा–लाग्दै गोठमै केस फूलाइयो, अबका छोराछोरीलाई नपढाएर पनि भएन । अलि पढेपछि जङ्गलमा चौरी धपाउन भन्दा विदेश जान बढी मन गर्छन् ।