माथिल्लो तामाकोशीको काम ९२ प्रतिशत

सहयात्रा टिभी

काठमाण्डौं । माथिल्लो तामाकोशी विद्युत आयोजनाको ९२ प्रतिशत काम पूरा भएको छ । आयोजनाले भर्खरै सुरुङ्ग निर्माणको काम सकेको छ ।

ऊर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका उच्च अधिकारीको उपस्थितिमा आज (आइतबार) बिहान मुख्य सुरुङ निर्माण कार्य सकिएको आयोजनाले जनाएको छ । ८.५ किलोमिटर लामो सुरुङ निर्माण पूरा भएसँगै आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ ।

कूल ४५६ मेगावाट क्षमताको आयोजना आगामी आउँदा वर्षसम्ममा सक्ने लक्ष्य छ । आयोजनामा कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र बीमा संस्थानको लगानी छ । मुख्य सुरुङ्ग भैंसेदेखि गोगरडाँडासम्मको खण्डको खन्ने कार्य सकिएको आयोजनाका प्रमुख विज्ञानराज श्रेष्ठले जानकारी दिए ।

आयोजनाकोकठिन कामका रुपमा हेरिएको दुई वटा ठाडो सुरुङ खन्ने काम भदौ ३१ गते नै सकिएको थियो यसैगरी गोगर–खिम्ती २२० केभी प्रशारण लाइन निर्माणमा पनि उल्लेख्य सफलता हासिल भएको छ । कूल १२७ टावरमध्ये हालसम्म ११८ वटा टावरको जग निर्माण भएको छ । ९७ वटा टावर जडान कार्य सम्पन्न भएको छ भने ७.५ किलोमिटर तार तान्ने कार्य सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ ।

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्