भ्रष्टाचारको मुद्दामा परेपछि चिनियाँ सेनाका अधिकारीले गरे आत्महत्या

चीन । भ्रष्टाचारको आरोपमा आफूविरुद्ध अनुसन्धान शुरु भएपछि चिनियाँ सेनाका एक उच्च अधिकारीले आत्महत्या गरेका छन् ।
चीनको समाचार संस्था सिन्ह्वाका अनुसार चीनको सैन्य आयोगका सदस्य चाङ याङले गत बिहीबार बेइजिङस्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् ।
६६ वर्षीय याङले झुण्डिएर आत्महत्या गरेको जनाइएको छ । भ्रष्टाचारको घटनामा मुछिएका पूर्व सैन्य अधिकारी गुओ बोसियोङ र सु कोइहोउसँगको सम्बन्धलाई लिएर उनीमाथि अनुसन्धान थालिएको थियो ।
यी दुबै पूर्व सैन्य अधिकारी राष्ट्रपति सी चिनफिङको भ्रष्टाचारविरोधी अभियानका क्रममा पक्राउ परेका थिए । दोषी ठहर भएपछि गुओलाई आजीवन काराबास सजाय तोकिएको छ भने अदालतको निर्णय नआउँदै सुले आत्महत्या गरेका छन् । एजेन्सी