कस्तो हुँदैछ चार पूर्व राज्यमन्त्रीको लडाईं ?

सहयात्रा टिभी

नवलपरासी । नेपाल–भारत सीमा विवादका कारण चर्चामा आइरहने नवलपरासी अहिले आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावका कारण चर्चामा छ । उसो त सबैतिर चुनाव भइरहेका बेला नवलरासीको मात्र किन चर्चा हुन्थ्यो भन्ने पनि लाग्न सक्छ । तर नवलपरासीको चुनावी चर्चा अलि फरक किसिमको छ ।

आसन्न चुनावमा मैदानमा उत्रिएका चारपूर्व राज्यमन्त्री कारण नवलपरासीको चुनावी चर्चा अलि फरक ढङ्गले हुने गरेको छ । जिल्लाको बर्दघाट सुस्ता पश्चिममा निर्धारित २ प्रतिनिधि सभा र ४ प्रदेश सभामा गरी एक मन्त्री र ४ राज्यमन्त्रीहरु चुनावी प्रतिष्पर्धामा उत्रिएपछि जीत–हारबारे फरक चर्चा र समीक्षा भइरहेको छ । आसन्न निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका नेता एवम् पूर्व भौतिक योजना आवास तथा यातायात मन्त्री ह्देश त्रिपाठीसहित ४ राज्यमन्त्री फरक–फरक क्षेत्रमा प्रतिष्पर्धामा छन् । नवलपरासी निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभामा बाम गठबन्धनबाट उम्मेद्वार बनेका नेता त्रिपाठी नेपाली कांग्रेसका पूर्व सांसद देवकरण कलवारसँग कडा प्रतिष्पर्धामा छन् । ०४८ सालदेखि २०६४ सालसम्मको ४ वटा संसदीय निर्वाचन लगातार जितेका नेता त्रिपाठी २०७० सालको निर्वाचनमा अहिलेकै प्रतिद्धन्द्धी कलवारसँग पराजित भएका थिए । त्रिपाठीलाई पराजित गरेकाले नै कांग्रेसले फेरि त्रिपाठीविरुद्ध कलवारलाई उठाएको हो ।

मधेसी नेताका रुपमा स्थापित त्रिपाठी स्वतन्त्र राजनीतिक समूह बनाई अहिले बाम गठबन्धनसँग तालमेल गरेपछि आलोचना समेत खेपिरहेका छन् । केहीले त्रिपाठीलाई एमालेसँग मिलेर चुनाव लडनु मधेसलाई भन्दा व्यक्तिगत राजनीतिक स्वास्र्थसँग जोडेर हेरेका छन् । यद्यपी त्रिपाठीले मधेस मुद्दा आफूले नछोड्ने बताइरहेका छन् ।
त्रिपाठी मधेसी जनताबाट आलोचित भए पनि मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् । उक्त क्षेत्रमा ३ स्थानीय तह छन् ।

जसमध्ये सुस्ता गाउँपालिका र बर्दघाट नगरपालिका एमालले जितेका कारण नेता त्रिपाठी बलियो उम्मेद्वारको रुपमा परिचित छन् । स्थानीय तहको मत परिणामलाई मताधार बनाउँदा बाम गठबन्धन नै अगाडि देखिए पनि यस क्षेत्रमा कांग्रेसको संगठन पनि कम छैन । त्यसकारण यहाँ त्रिपाठी र कलावारबीच कडा प्रतिष्पर्धा हुने स्थानीय मतदाता बताउँछन् । यस क्षेत्रमा त्रिपाठी र कलवारको एजे मिल्दा जुल्दा छन् । उखु, डुबान, शिक्षा स्वास्थ्य, कृषि, पर्यटन र भौतिक पुर्वाधार उनिहरुका चुनावी मुद्दा छन् ।

त्यस्तै प्रतिनिधि सभा २ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कडेल, बामगठबन्धबाट माओबादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व स्थानीय विकासराज्य मन्त्री घनश्याम यादव र राजपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्व शिक्षाराज्यमन्त्री गोविन्द चौधरीको त्रिकोणीय प्रतिष्पर्धा देखिएको छ । यस क्षेत्रमा सुनवल, रामग्राम नगरपालिका र पाल्हीनन्दन, सरावल गाउँपालिका पर्छन् ।

सुनवल, रामग्राम नगरपालिका र सरावल गाउँपालिकाका प्रमुखमा नेपाली कांग्रेसको उम्मेद्वार बिजयी भएकाले यस क्षेत्रमा नेपाली कांग्रेस नै बलियो रहेको भन्दै निर्वाचनमा आफू जित्ने नेता कँडेलको दावी छ । नेता कडेल जिल्लामा दुई पटक जिल्ला सभापति भइसकेका छन् भने २०५१ र २०५६ सालको निर्वाचनमा बिजयी भई दुई पटक गृहराज्य मन्त्री समेत भएकाले जिल्लामा उनको राम्रै पडक रहेको चर्चा छ । कडेलका निकट प्रतिष्पर्धी बाम गठबन्धनका उम्मेद्वार घनश्याम यादव छन् । यादवको सुनवल नगरपालिकामा राम्रै पकड छ । त्यस्तै पाल्हीनन्द गाउँपालिकामा मोओबादी केन्द्रका उम्मेदवार जितकाले बाम गठबन्धन कांग्रेस भन्दा कम नरहेकोे दावी यादवको छ ।
त्यस्तै यहि क्षेत्रमा राजपाका केन्द्रीय उपाध्यक्ष एवम् पूर्व शिक्षाराज्य मन्त्री गोविन्द चौधरी पनि निर्वाचन लड्दैछन् ।

चौधरी सुनवल नगरपालिका पहाडी क्षेत्र भए पनि रामग्राम नगरपालिका, पाल्हीनन्दन र सरावल गाउँपालिका मधेश बाहुल क्षेत्र भएकाले यसैको बलम चुनाव जित्ने दावी गर्छन् । यो क्षेत्रमा करीब २० हजार थारु जातिको मत छ जुन मत जातिगत रुपमा आफूलाई आउने उनको दावी छ ।
प्रतिनिधि सभा मात्रै होइन, प्रदेश सभामा पनि ूुर्व राज्यमन्त्रीले चुनाव लडेपछि यस क्षेत्रमा चुनावी रौनक फरक छ । निर्वाचन क्षेत्र २ को प्रदेश सभा ‘ख’ मा लडेका संघीय समाजवादी फोरम नेपालका नेता एवम् पूर्व रक्षाराज्य मन्त्री रामबचन यादव प्रतिष्पर्धामा छन् । यादवको कांग्रेसका बैजनाथ जयसवाल, राजपाका नगेन्द्र अग्रंहरी र बाम गठबन्धनका कन्हैया कोहारसँग प्रतिष्पर्धा छ । नेता यादव ४ पक्षीय प्रतिष्पर्धामा ४ नम्बरमा रहेको स्थानीयको आंकलन छ । यहाका चारै जना उम्मेद्वारले आफ्नो चुनावी प्रचार–प्रसारलाई तीब्र पारिरहेका छन् ।

प्रदेश नम्बर ५ मा पर्ने नवलपरासीका २ प्रतिनिधि सभा सदस्यका लागि पार्टीगत तथा स्वतन्त्र गरी २६ जना उम्मेद्वार छन् । ४ प्रदेश सभा सदस्यका लागि ६३ जना उम्मेद्वार चुनावी प्रतिष्पर्धामा छन् । जिल्लामा १२० मतदानस्थल र २५७ मतदान केन्द्र तोकिएको छ । कूल २ लाख, ८ हजार २३७ जना मतदाता रहेको यस जिल्लामा ६ जना बाहेक अरु सवैले हार व्यहोर्नुपर्ने निश्चित छ । तर पनि सवैजसो उम्मेद्वारले जित्ने दावी गरिरहेका छन् ।

प्रकाशित : 30 November, 2017

प्रतिक्रिया दिनुहोस्