बेपत्ता पाण्डे ६ महिनापछि फेला

सहयात्रा टिभी

काठमाडौँ  । झण्डै ६ महिनाअघिदेखि बेपत्ता स्याङ्जाका गंगाधर पाण्डे काभ्रेपलाञ्चोकमा फेला परेका छन् ।

मानसिक सन्तुलन नभएका पाण्डेलाई समाजसेवी दुर्गानाथ दाहालले फेला पारी परिवारको जिम्मा लगाउनुभएको हो । केही दिनअघि मानसेवा आश्रम ललितपुर र दाहालको संयुक्त पहलमा उनलाई बनेपा नगरपालिका–३ मा फेला पारी सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गरिएको र परिवारसँग सम्पर्क भएको जानकारी दिनुभयो । पाण्डेलाई शनिबार मानसेवा आश्रममा परिवारको जिम्मा लगाइएको दाहालले जानकारी दिनुभयो ।

बेसहारा व्यक्तिको उद्धार गरेर परिवारमा पुनःमिलन गराउन पाउँदा आफूलाई करोडौँको चिठ्ठा परेको अनुभव भएको दाहालले प्रतिक्रिया दिनुभयो । परिवारसँग भेट नहुँदासम्म उनलाई सोही आश्रमले औषधोपचार गर्ने र खानबस्ने व्यवस्था गरेको थियो ।

आफूले माया मारेको छोरा छ महिनापछि भेट्दा परिवारमा खुशीयाली छाएको पाण्डेका बुबा लक्ष्मीप्रसादले बताउनुभयो । दाहालले सामाजिक सञ्जालमा पाण्डेको तस्वीर सार्वजनिक गरेपछि उनको परिवारले सम्पर्क गरेको थियो ।

आश्रम र दाहालको प्रयासमा यसअघि पनि हराएका ३०० जनाभन्दा बढी व्यक्तिलाई पुनःमिलन गराउन सफल भएको मानवसेवा आश्रम ललितपुरका संयोजक धर्मप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस

प्रकाशित : 5 November, 2017

प्रतिक्रिया दिनुहोस्